ट्राफिक महाशाखामा ‘कोरोना भाइरस समन्वय डेस्क’

0
Shares

महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोरोना भाइरसको सङ्क्रमण रोक्न प्रहरी नायव उपरीक्षकको नेतृत्वमा स्वास्थ्यकर्मीसहितको ‘कोरोना भाइरस समन्वय डेस्क’ स्थापना गरेको छ ।

उक्त डेस्क स्थापना गरी महाशाखाले २५ जना राख्न मिल्ने क्वारेन्टाइन वार्डसमेत तयार गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

वर्तमान समयमा विशेष परिस्थिति र आवश्यकताका आधारमा मात्र प्रहरी कर्मचारीलाई बिदा दिने व्यवस्था मिलाइएको जानकारी दिँदै उनले बिदाबाट फर्किएकालाई अनिवार्य रुपमा १४ दिन क्वोरेन्टाइनमा राखेर जाँचपछि मात्रै कार्यस्थलमा खटाउने व्यवस्था मिलाइएको बताए।

महाशाखाले सबै ट्राफिक प्रहरीलाई ड्युटीपश्चात ब्यारेक हाताभित्र नै लक डाउन गरिएको छ । कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै महाशाखाले दैनिक सडकमा खटिनुपर्ने ट्राफिक प्रहरीलाई विशेष सतर्कता अपनाउन भनिएको उनले बताए। आजदेखि महाशाखाले बाहिरी प्रवेशद्धारमा पिपिई पोसाक लगाएका स्वास्थ्यकर्मीबाट थर्मल गनमार्फत ज्वरो नाप्ने व्यवस्था मिलाएको छ ।

महाशाखाले प्राविधिकको सहयोगमा आफैँ सेनिटाइजर उत्पादन गरी प्रत्येक ट्राफिक प्रहरीलाई सेनिटाइजर र मास्क पनि वितरण गरिसकेको छ । वर्तमान सुरक्षा अवस्थासमेतलाई मध्यनजर गर्दै हरेक प्रहरी कर्मचारीलाई सचेत रहन र सङ्क्रमणबाट बच्न सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिएको ढकालले जानकारी दिए ।

प्रकाशित मिति: २० चैत २०७६, बिहीबार  ०९ : ५५ बजे