भैरहवा प्रयोगशालामा पहिलो नमूना परीक्षण नेगेटिभ

0
Shares

प्रदेश नं ५ को भैरहवामा स्थापना भएको प्रदेशस्तरीय प्रयोगशालामा आजदेखि शुरु भएको कोरोना परीक्षणको पहिलो नतिजा नेगेटिभ देखिएको छ ।

कोरोनाका लागि मात्र नभएर अन्य सबै खालका इन्फ्लुएञ्जा भाइरसको परीक्षण गर्न मिल्ने गरी सञ्चालनमा ल्याइएको भवनमा पिसिआर मेशिनसँगै विएसएल टु क्याविनेट वायो सेफ्टी लेभलको प्रयोगशाला स्थापना गरिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा राजेन्द्रकुमार गिरीले बताए ।

प्रयोगशालाको सञ्चालनका आज दिनभरि नै यन्त्र जडान र त्यसको गुणस्तर परीक्षणको काम सकिएपछि एउटा नमूना मात्र परीक्षण गरिएको डा गिरीले जानकारी दिनुभयो । उनले भने, ‘नमूनाका रुपमा गरिएको पहिलो परीक्षणमा नै नेगेटिभ रिपोर्ट आएको छ ।’

परीक्षणको काम सोमबारदेखि पूर्णरुपमा हुनेछ । सोमबार बाँके क्षेत्रका अस्पताल र लुम्बिनी प्रादेशिक अस्पतालमा संकलित स्वाब परीक्षणका लागि आउनेछ । उक्त प्रयोगशालामा यन्त्रले परीक्षणको रिपोर्ट एक जनाको १ घण्टामा दिनेछ । सोमबार आउने नमूनाको रिपोर्ट दिने काम सोही दिन नै निस्कने डा. गिरीले जानकारी दिए।

  • मुख्यमन्त्रीबाट निरीक्षण

मुख्यमन्त्री शंकर पोखरेलले आज भैरहवास्थित राष्ट्रिय गहुँ बाली परिसरमा स्थापित प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निरीक्षण गरी प्रयोगशालामा भइरहेको कामबारे जानकारी लिएका छन्।

प्रयोगशालाको सञ्चालनपछि मुख्यमन्त्री पोखरेलले कोरोना परीक्षणको प्रयोगशाला सञ्चालनमा आएको बताउँदै समाजिक सञ्जालमा लेखेका छन्, ‘गहुँबाली केन्द्रमा रहेको प्रदेशस्तरीय प्रयोगशालामा कोरोना टेष्ट सफल भयो । अबदेखि प्रदेश ५ को स्वाब परीक्षण गर्न पठाउनुहोला ।’

सामाजिक विकासमन्त्री सुदर्शन बराल, सामाजिक विकास सचिव गोपीकृष्ण खनाल लगायतले प्रयोगशालाको अवस्थाका बारेमा उनलाई जानकारी गराएका हुन्। त्यस अवसरमा मुख्यमन्त्री पोखरेलले सामाजिक विकास सचिव र प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुखलाई आरटी पिसिआर मेशिन तत्काल खरीद प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्।

आरटी पिसिआर मेशिनको परिक्षण गर्नसक्ने क्षमता बढी हुन्छ । अहिले प्रयोगशालामा पिसिआर मेशिन मात्र रहेको र सोही मेशिनबाट कोरोना भाइरसको परीक्षण शुरु गरिएको छ ।

प्रकाशित मिति: २३ चैत २०७६, आइतबार  २१ : ०० बजे