विश्वभर कोरोना संक्रमणबाट करिब ६८ हजारको मृत्यु, १२ लाख ४५ हजार संक्रमित

0
Shares

विश्वभरि महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमणबाट आइतबार बेलुका १० बजेसम्म विश्वका विभिन्न देशमा गरी ६७ हजार ९०१ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य सङ्गठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संंंसारभरि १२ लाख ४४ हजार ९६९ व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

सङ्क्रमित व्यक्तिहरुमा २ लाख ५६ हजार ४९६ जना उपचारपछि घर फर्किएका छन् भने ९ लाख २० हजार व्यक्ति हाल उपचारारत छन् ।

चीनको हुबेइ प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम नागरिकलाई सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गरिरहेको छ । यद्यपी पछिल्लो चरणमा संयुक्तराज्य अमेरिका सहित युरोपेली मुलुकहरुमा यस भाइरसका कारण भयावह स्थिति उत्पन्न भएको छ ।

हाल कोरोनाभाइरसका कारण अत्यन्त प्रभावित इटालीमा आज ५२५ जना सहित १५ हजार ८८७ जनाको मृत्यु भइसकेको भने १ लाख २९ हजार सङक्रमित छन् । स्पेनमा आज ४७१ जना सहित १२ हजार ४१८ जनाको मृत्यु भएको छ भने १ लाख ३० हजार भन्दा बढी सङक्रमित रहेका छन् ।

कोरोनाभाइरसको अर्को केन्द्रका रुपमा विकास भइरहेको संयुक्तराज्य अमेरिकामा आइतबार ७१८ जना सहित ९ हजार १७० जनाको मृत्यु भएको छ भने ३ लाख २३ हजार भन्दा बढी सङक्रमित छन् ।

कोरोनाभाइरस सङ्क्रमणबाट चीनमा ३ हजार ३२९ जनाको मृत्यु भएको छ भने कूल संक्रमित ८१ हजार ६६९ जनामध्ये करिब ७७ हजार व्यक्ति निको भएर घर फर्किएका छन् ।

इरानमा कोरोना भाइरसको सङ्क्रमणका कारण ३ हजार ६०३ जनाको मृत्यु भएको छ भने दक्षिण कोरियामा १८३ व्यक्तिको मृत्यु भएको छ ।
कोरोनाभाइरसको सङ्क्रमणको कारण फ्रान्समा ७ हजार ५६० जना, बेलायतमा ४ हजार ९३४ जना, नेदरल्यान्ड्समा १ हजार ७६६ जना, जर्मनीमा १ हजार ५२३ जना, बेल्जियममा १ हजार ४४७ जनाको मृत्यु मृत्यु भइसकेको छ ।

आइतबार मात्रै विश्वमा ४३ हजार बढीमा नयाँ संक्रमण भेटिएको छ जसमा अमेरिकामा सबैभन्दा धेरै १२ हजार बढी पाइएको हो। यस्तै आइतबार थप ३ हजार ३३२ ले ज्यान गुमाएका छन्। जहाँ अमेरिकाबाट ७१९ ले ज्यान गुमाएका छन् भने बेलायत ६२१, इटाली ५२५, स्पेन ४७१, बेल्जियम १६४, इरान १५१, नेदरल्याण्ड ११५ र जर्मनीमा ७९ जनाले मृत्युवरण गरेका हुन्।

हालसम्म अमेरिकामा सबैभन्दा धेरै १६ लाख ८१ हजार बढी परिक्षण् भएको छ। यस्तै जर्मनी ९ लाख १८ हजार, रसिया ६ लाख ९७ हजार, इटाली ६ लाख ९१ हजार, दक्षिण कोरिया ४ लाख ६१ हजार, स्पेन ३ लाख ५५ हजार र क्यानडामा ३ लाख १७ हजार जनामा कोभिड १९ को परिक्षण गरिसकिएको छ।

प्रकाशित मिति: २३ चैत २०७६, आइतबार  २२ : ०४ बजे