एम्बुलेन्सले कोरोना बिरामी बोक्ने सम्बन्धी समझदारी

एम्बुलेन्सले कोरोना बिरामी बोक्ने सम्बन्धी समझदारी

नेपाल एम्बुलेन्स सेवा (फोन नं १०२) ले काठमाडौं महानगरपालिकासँगको सहकार्यमा उपत्यकाभित्र सञ्चालन गर्दै आएका पाँच एम्बुलेन्सलाई कोरोना भाइरस सङ्क्रमित बिरामी बोक्न आवश्यक तयारी गरेको छ ।

कोरोना भाइरस सङ्क्रमित बिरामीका लागि एम्बुलेन्स सञ्चालनमा ल्याउन आवश्यक पर्ने आपत्कालीन स्वास्थ्य प्राविधिक र एम्बुलेन्स चालकलाई आवश्यक पर्ने पिपिई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराई आजदेखि सेवा प्रदान गर्ने समझदारी भएको छ ।

कोरोना भाइरस महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि स्थापना गरिएको नेपाली सेनाको छाउनीस्थित ‘कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र अपरेशन’ (सिसिएमसी ओप्स) मा स्वास्थ्य मन्त्रालय र एम्बुलेन्स सेवाबीच आज उक्त समझदारीमा हस्ताक्षर भएको हो ।

उक्त समझदारीअनुसार नेपाल एम्बुलेन्स सेवाको क्षमता अभिवृद्धि गर्न स्वास्थ्य मन्त्रालयका चार र काठमाडौँ महानगरपालिकाको एक गरी पाँचवटा थप एम्बुलेन्सलाई कोरोना भाइरससम्बन्धी बिरामीलाई सेवा प्रदान गर्न मिल्ने गरी तयार पारी एम्बुलेन्स सेवाअन्तर्गत सञ्चालनमा ल्याइने छ ।

उल्लिखित एम्बुलेन्स सञ्चालनमा आपत्कालीन स्वास्थ्य प्राविधिकको थप आवश्यकता भएमा सुरक्षा निकायहरु (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल) बाट दक्ष जनशक्ति (एम्बुलेन्स चालक तथा स्वास्थ्यकर्मी) उपलब्ध गराइने सेनाको सिसिएमसी ओप्सले जनाएको छ ।

साथै सञ्चालनमा आउने थप एम्बुलेन्सका लागि बढ्न जाने आर्थिक व्ययभार हाललाई काठमाडौँ महानगरपालिकाले नै व्यहोर्नेसमेत उक्त समझदारीमा उल्लेख छ । उक्त कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, सिसिएमसी ओप्सअन्तर्गतका क्लस्टर संयोजक लगायत अन्य विशिष्ट व्यक्तिको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २४ चैत २०७६, सोमबार १८ : १९ बजे