लकडाउनमा थप कडाइ

0
Shares

ट्राफिक प्रहरीले आजदेखि लकडाउनलाई थप कडाइ गरेको छ । अत्यावश्यक काम बाहेक उपत्यका लगायत एक जिल्लाबाट अर्को जिल्लामा पुग्ने नाका, मुख्य सडक तथा भित्री सडकको जाँचमा थप कडाइ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिनमा १५५ स्थान र रातमा ४५ स्थानमा चेक प्वाइन्ट राखी सवारीसाधन जाँच गर्ने व्यवस्था मिलाएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए। भित्री सडकमा भने मोटरसाइकलमा ट्राफिक प्रहरी खटाएको उहाँले बताए।

कोरोना भाइरस विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देशव्यापीरूपमा लकडाउनको आदेश जारी गरिएको थियो । लकडाउन उल्लङ्घन गर्ने सवारीसाधनलाई नियन्त्रणमा लिएर बाहिर ननिस्कने प्रतिबद्धतासहित बेलुका मात्रै उक्त सवारीसाधन छाड्ने गरिएको महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा चैत ११ गतेदेखि लकडाउन उल्लङ्घन गर्ने पाँच हजार बढी सवारीसाधन नियन्त्रणमा लिएर कारवाही गरिएको छ भने २५ हजारभन्दा बढी मानिसलाई समेत कारवाही गरिएको छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालय, काठमाडौँद्वारा विभिन्न मितिमा जारी भएको सात दिने पहेँलो रङको सवारी पास अब थपिएको लकडाउन अवधिभर पनि मान्य हुने जनाएको छ ।

यो समयमा पास भएर पनि शान देखाउँदै घुम्न निस्कने, तीव्र गतिमा कुदाउने, एक व्यक्तिको नाममा भएको पास अर्को व्यक्तिलाई दिनेमाथि महाशाखाले विशेष निगरानी थालेकोसमेत प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २५ चैत २०७६, मंगलबार  २१ : १८ बजे