शोधनान्तर बचत एक महिनामै १६ अर्ब २३ करोडले बढ्यो

0
Shares

चालु आर्थिक वर्षको फागुनममा मुलुकको शोधनान्तर स्थिती ३७ अर्ब ८४ करोड रुपैयाँले बचतमा रहेको छ। यो बचत माघ महिनाको तुलनामा १६ अर्ब २३ करोड रुपैयाँले धेरै हो ।

चालु आर्थिक वर्षको माघ महिनामा मुलुकको शोधनान्तर बचत २१ अर्ब ६१ करोड रुपैयाँ मात्र थियो । यो एक महिनाको अवधिमा देश भित्र भित्रने पैसा बाहिरिने भन्दा धेरै भएपछि शोधनान्तर बचत बढेको हो । पछिल्लो समयमा आयात घटेर निर्यातमा देखिएको सुधारले शोधनान्तर बचत बढ्नमा मद्दत पुगेको हो ।

चालु आर्थिक वर्षको फागुनसम्ममा चालु खाता घाटा १ खर्ब २४ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो घाटा १ दर्ब ९१ अर्ब ४९ करोड रहेको रुपैयाँ थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको आठ महिनामा १ अर्ब ६८ करोड रहेको चालु खाता घाटा समीक्षा अवधिमा १ अर्ब १० करोड रहेको छ ।

चालु आवको फागुनसम्ममा पूँजीगत ट्रान्सफर ११ अर्ब १५ करोड र प्रत्यक्ष वैदेशिक लगानी १५ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा पूँजीगत ट्रान्सफर ११ अर्ब ५६ करोड र प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ६६ करोड रुपैयाँ रहेको थियो ।
चालु आर्थिक वर्षको ८ महिनामा शोधनान्तर स्थिति ३७ अर्ब ८४ करोड रुपैयाँले बचतमा रहेको छ। गत आवको सोही अवधिमा भने शोधनान्तर स्थिति ५८ अर्ब ९९ करोड रुपैयाँले घाटामा रहेको थियो ।

चालु आवको फागुनसम्ममा उपभोक्तम मुल्य वृद्धि पनि माघको तुलनामा घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ६.७० प्रतिशत छ ।

आठ महिनाको औसत मुद्रास्फीति ६.५० प्रतिशत छ। चालु आर्थिक वर्षको ७ महिनामा यस्तो दर वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ६.८७ प्रतिशत थियो । सात महिनाको औसत मुद्रास्फीति ६.४७ प्रतिशत थियो ।