समता लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घट्दा पनि यसकारण बढ्यो नाफा

0
Shares

समता लघुवित्त वित्तीय सस्ंथाको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा गत आवको यसै अवधिको तुलनामा लकडाउनले व्यवसाय प्रभावित हुँदा खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेपनि लघुवित्तको खुद नाफा भने बढेको छ।

लघुवित्तले तेस्रो त्रैमासमा खराब कर्जा असुलीबाटै ३ करोड ५७ लाख ७६ हजार रुपैयाँ संकलन गरेपछि खुद ब्याज आम्दानी घटेपनि नाफा वृद्धि भने उच्च देखिएको हो।

गत आवको यसै अवधिमा १ करोड ४८ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको समताको खुद नाफा १२८.४० प्रतिशतले बढेर ३ करोड ३८ लाख ४५ हजार रुपैयाँ पुगेको हो ।

लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन नाफा भने दुबै घटेको छ। गत आवको तुलनामा लघुवित्तको खुद ब्याज आम्दानी १ करोड ५२ लाख रुपैयाँ र सञ्चालन नाफा २४ लाख रुपैयाँले घटेको हो।

चैत मसान्तसम्म ६३ करोड ८९ लाख रुपैयाँ निक्षेप संकलन गरि १ अर्ब ६५ करोड रुपैयाँ कर्जा लगानी गरेको यस लघुवित्तले ३ करोड २२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। सञ्चालन नाफा पनि १ करोड ९८ लाखबाट घटेर १ करोड ७४ लाख रुपैयाँमा संकुचित बनेको छ ।

हकप्रद तथा बोनसबाट १९ करोड ११ लाख रुपैयाँ चुक्ता पूँजी कायम गरेको यस लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी २३.६१ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १५२.०७ रुपैयाँ छ । कम्पनीको जगेडा कोषमा ९ करोड ९५ लाख रुपैयाँ सञ्चित छ ।

लघुवित्तको खराब कर्जा अनुपात भने ह्वात्तै बढेको छ। गत आवको चैतमा १.१४ प्रतिशत रहेको लघुवित्तको खराब कर्जा अनुपात ०.९७ प्रतिशत बढेर २.११ प्रतिशतमा पुगेको छ ।

लघुवित्तको मूल्य आम्दानी अनुपात ३४.९० गुणा छ।

प्रकाशित मिति: १६ वैशाख २०७७, मंगलबार  १३ : ३९ बजे