पुनरकर्जा कोषमा ४० अर्ब थपेर १ खर्ब पुर्याइने

0
Shares

सरकारले पुनरकर्जाको आकार बढाएको छ । मन्त्रिपरिषदको बैठकले विद्यमान पुनरकर्जा कोषको आकारलाई ४० अर्ब थप गरेर १ खर्ब रुपैयाँ बनाउने निर्णय गरेको हो ।

कोरोना राहत प्याकेज कार्यक्रम अन्तर्गत सरकारले ६० अर्बको पुनरकर्जा कोषलाई बढाएर १ खर्ब रुपैयाँ पुर्याएको हो । नेपाल राष्ट्र बैंकले गत चैतमा पुनरकर्जा कोषमा १० अर्ब थपेर ६० अर्ब रुपैयाँ पुर्याएको थियो। 

वैशाख १४ गते बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री युवराज खतिवडाले ६० अर्बको पुनरकर्जा कोषलाई १ खर्ब बनाउने निर्णय भएको बताएका हुन् ।

यता, केन्द्रीय बैंकले यसअघि नै पुनरकर्जाको ब्याजदर भने घटाउने निर्णय गरिसकेको छ । राष्ट्र बैंकले मंगलबार परिपत्र जारी गर्दै केन्द्रीय बैंकले २% मा र बैंक तथा वित्त संस्थाले व्यवसायीलाई ५% ब्याजदरमा पुनरकर्जा उपलब्ध गराउने निर्देशन दिइसकेको छ ।

मन्त्रिपरिषको बैठकले पुनरकर्जा कोषको ब्याजदर घटाउन केन्द्रीय बैंकलाई भनेको छ । घरेलु तथा साना उद्योगलाई आवश्यक चालुपुँजी कर्जा उपलब्ध गराउन केन्द्रीय बैंकलाई निर्देशन दिएको छ । चालु आर्थिक वर्षको हालसम्म ३५ अर्ब १ करोड ६२ लाख रुपैयाँ पुनरकर्जा प्रवाह गरेको केन्द्रीय बैंकले जनाएका छ ।