सञ्चालन नोक्सानीमा पुगेको आशा लघुवित्तको नाफा करिब डेढ करोड वृद्धि !

0
Shares

आशा वित्तीय संस्था लिमिटेड (ASBSL) लकडाउनका कारण ऋणीहरुबाट उठ्नुपर्ने ऋण असुली नभई खराब कजा बढेर ६ करोड ९४ लाख बढी कर्जा नोक्सानी व्यवस्थापन गरेको कारण सञ्चालन नोक्सानीमा पुगेको छ।

लघुवित्तले आफ्नो व्यवस्थापकीय विश्लेषणमा लकडाउनका कारण ‘फिल्ड गतिविधिहरु ठप्प हुँदा कर्जा लगानी तथा असुली समेत हुन नसक्दा अघिल्लो त्रैमासको तुलनामा भाका नाघेका कर्जा अनुपातमा केही वृद्धि भएको उल्लेख गरेको छ।

यद्यपी आशा लघुवित्तले आफ्नो खुद नाफा भने गत चैत मसान्तको तुलनामा १ करोड ४४ लाख ७१ हजार रुपैयाँले बढाएको छ। आशाले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा २ करोड ९० लाख २६ हजार आर्जन गरेको हो । गत आवको चैतमा लघुवित्तको नाफा १ करोड ४५ लाख ५५ हजार रुपैयाँ थियो।

अघिल्लो आवको यसै अवधिमा १ करोड ६६ लाख सञ्चालन नाफामा रहेको लघुवित्त चैत समान्तसम्ममा ७२ लाख ३६ हजार नोक्सानीमा पुगेको छ। यद्यपी लघुवित्तले पुरानो खराब कर्जा असुली अर्थात ‘राइटब्याक’ बाट ५ करोड ३० लाख बढी उठाउँदा लघुवित्तको नाफा भने करिब डेढ करोडले वृद्धि भएको हो।

तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तले ७३ करोड निक्षेप संकलन र १ अर्ब ४० करोड बैंक तथा वित्तीय संस्थाबाट सापटी लिएर २ अर्ब २६ करोड ४७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

चैत मसान्तसम्ममा १० करोड ६४ लाख १४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको यस लघुवित्तले अघिल्लो आवको तुलनामा २ करोड ८२ लाखले खुद ब्याज आम्दानी बढाएको हो।

चुक्ता पूँजी २३ करोड २२ लाख रुपैयाँ रहेको लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी १६ रुपैयाँ ६६ पैसा रहेको छ। जगेडा कोषमा ६ करोड ४९ लाख रुपैयाँ सञ्चित रहँदा प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ ९५ पैसा रहेको छ। यस्तै मूल्य आम्दानी अनुपात ३७.०९ गुणा छ।

यस अवधिमा लघुवित्तको निष्क्रिय कर्जा ह्वात्तै बढेको छ। अघिल्लो आवको यसै अवधिमा २.६७ रहेको यस्तो अनुपात बढेर ४.४६ प्रतिशत पुगेको छ। जसका कारण जोखिम व्यवस्थापन रकम बढ्दा लघुवित्तको सञ्चालन नाफा ऋणात्मक बनेको हो।