आरएसडिसी लघुवित्तको खुद नाफा २७% बढ्यो, जगेडा कोषमा भने संकुचन

0
Shares

आरएसडिसी लघुवित्त (RSDC) ले चालु आवको तेस्रो त्रैमाससम्ममा ५ करोड ४३ लाख ८६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। लघुवित्त कम्पनीहरुलाई थोक लघुवित्त कर्जां उपलब्ध गराउने यस कम्पनीले आफ्नो खुद नाफा २७ प्रतिशतले बढाएको हो।

थोक कर्जा प्रवाह गर्ने यस लघुवित्तले अघिल्लो वर्ष कम्पनीले ४ करोड २८ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा १ करोड १५ लाख ६० हजारले नाफा बढेको हो।

समीक्षा अवधिमा बोनसबाट पूँजी बढाएको कम्पनीको चुक्ता पूँजी ६३ करोड ३५ लाख १२ हजारबाट बढेर ६७ करोड १५ लाख २३ हजार रुपैयाँ पुगेको छ। यस्तै लघुवित्तको प्रतिशेयर आम्दानी पनि केही बढेर १० रुपैयाँ ८० पैसा पुगेको छ।

६ प्रतिशत बोनस र दश प्रतिशत नगद गरि १६ प्रतिशत लाभांश वितरणपछि जगेडा कोषमा पनि १४ करोड ७८ लाखबाट घटेर १२ करोड २० लाखमा संकुचित बनेको छ।

चैत मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट २ अर्ब ९९ करोड ४८ लाख रुपैयाँ ऋण सापटी गरेर आरएसडिसी लघुवित्तले अन्य लघुवित्त संस्थाहरुमा ३ अर्ब १० करोड ६० लाख रुपैयाँ कर्जा परिचालन गरेको छ। कर्जा प्रवाहबाट कम्पनीले ९ करोड ६१ लाख ७१ हजार खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा १५.२४ प्रतिशत अधिक हो।

लघुवित्तको निष्कृय कर्जा अनुपात ०.३० बाट ०.१६ प्रतिशतमा सुधारिएको छ। खराब कर्जा सुधारसँगै १ करोड ४८ लाखको नोक्सानी व्यवस्था घटेर ७३ लाखमा आएको छ।

लघुवित्तको प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ १८ पैसा, पूँजीकोष अनुपात २४.२३ प्रतिशत, कोषको लागत १०.५२ प्रतिशत र मूल्य आम्दानी अनुपात ४०.८४ गुणा छ।

प्रकाशित मिति: २६ वैशाख २०७७, शुक्रबार  ०५ : ३५ बजे