थप २५ जनामा कोरोना संक्रमण, संक्रमित ४२७ पुगे

0
Shares

नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या ४२७ पुगेको छ। बुधबार थप २५ जनामा नयाँ संक्रमण नतिजा पोजेटिभ आएसँगै संक्रमितको संख्या बढेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार ३ देखि ४८ वर्ष समूहका २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। आज बाँकेमा ६ जना पुरुष, धनकुटामा ५ जना (४ पुरुष र १ महिला), कपिलवस्तुमा १३ जना (७ पुरुष र ६ महिला), र नवलपरासी पश्चिममा २६ वर्षिया पुरुषमा संक्रमण पुष्टि भएको हो।

उनका अनुसार संक्रमितमध्ये ७ जना महिला र ३ वर्षिया बालक सहित १८ जना पुरुष रहेका छन्।

हालसम्म कूल ४२७ जनामा संक्रमण पुष्टि भएकोमा ३५८ जना पुरुष र ६९ जना महिला रहेका छन्। प्रदेशगत रुपमा प्रदेश नम्बर १ मा ५९ जना, २ मा १३६ जना, वाग्मती प्रदशेमा २६ जना, गण्डकीमा ४ जना, प्रदेश नम्बर ५ मा १९६ जना, कर्णालीमा १ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित रहेका छन्।

हालसम्म कूल ३५ हजार ४९४ वटा पीसीआर परीक्षण गरिएकोमा ३६ हजार ६७ वटा परीक्षणको नतिजा नेगेटिभ र ४२७ वटा पोजेटिभ आएको हो। कूल ३८० जना आइसोलेसनमा रहेका छन् भने बुधबार थप ८ जना सहित कूल ४५ जना उपचारपछि निको भई घर फर्किएका छन्। कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भैसकेको छ।

प्रकाशित मिति: ७ जेठ २०७७, बुधबार  १६ : ३५ बजे