युनिभर्सल पावरको नाफा बिद्युत बिक्रीअघि नै ४ करोड २३ लाख

0
Shares

युनिभर्सल पावर कम्पनी लिमिटेड (UPCL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४ करोड २३ लाख ८२ हजार खुद नाफा आर्जन गरेको छ। यो नाफा कम्पनीले चालु आवको ९ महिना अवधिमा विद्युत बिक्रीअघिको कमाएको नाफा हो।

कम्पनीले दोलखा जिल्लामा अवस्थित खारे खोलामा हाल निर्माण गरिरहेको ११ मेगावाटको जलविद्युत आयोजना अन्तिम चरणमा छ।

कम्पनीका अनुसार यसअघि निर्धारित योजना अनुसार काम सम्पन्न हुन नसक्नुमा २०७२ सालको भूकम्प, त्यसपछि उत्पन्न नेपाल भारत सिमा अवरोध र नेपाल विद्युत् प्राधिकरणबाट ट्रान्समिसन लाइन निर्माणमा भएको ढिलाइ लगायत कारण विद्युत् उत्पादन हुने मिति संशोधन भएको आयोजनाले जनाएको छ ।

त्यसैगरी, कम्पनीले माथिल्लो इङ्खु खोला जलविद्युत आयोजनाको अध्ययन गरिरहेको छ भने ४५ मेगावाटको कसुवा खोला जलविद्युत आयोजना निर्माण गर्न लगानी गर्ने सम्झौता गरेको छ।

सो अवधिमा कम्पनीले मुद्दती निक्षेप र बैंक ब्याज सहित अन्य स्रोतबाट ६ करोड २० लाख ८९ हजार रुपैयाँ आम्दानी गरेको छ। गत आवको यसै अवधिमा यस्तो आम्दानी १ करोड १० लाख ७१ हजार थियो।

चैतसम्ममा कम्पनीको प्रशासनिक खर्च ५२८ लाख ५ हजार रुपैयाँ रहेको छ।

२ अर्ब १० करोड ३ लाख ५० हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष ८ करोड ६८ लाख ३४ हजार रहेको छ। कम्पनीको दीर्घकालीन बैंक ऋण १ अर्ब १८ करोड ६६ लाख रहेको छ भने अल्पकालीन बैंक ऋण २ करोड १३ लाख ६ हजार रुपैयाँ रहेको छ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २.६९ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १०४.१३ रुपैयाँ रहेको छ। कम्पनीको मूल्य आम्दानी अनुपात २७.१३ गुणा छ।