नेपाली बजारमा सोमबार हालसम्मकै महङ्गो भएको सुन मंगलबार भने घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ प्रतितोला ४०० रुपैयाँ र चाँदी १० रुपैयाँले सस्तिएको हो।
दुई साता यता लगातार बढिरहेको सुनको भाउ मंगलबार पहिलो पटक ओरालो लागेको हो। लकडाउनपछि बन्द रहेको सुनचाँदीको भाउ निर्धारण जेठ २५ गतेपछि नियमित रुपमा तोकिँदै आएको छ।
महासंघका अनुसार असार ९ गते सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ६०० रुपैयाँ, तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १६० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ९४० रुपैयाँ निर्धारण गरिएको छ ।
असार ८ गते सोमबार पहेँलो धातु सुनको मूल्य तोलामा नै ४०० रुपैयाँ बढेर छापावाल सुन एक तोलाकै ९१ हजार, तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ५६५ रुपैयाँ र चाँदी १० रुपैयाँले बढेर प्रतितोला ९५० पुगेको थियो।
विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणका कारण लगानीकर्ताको आकर्षण सुनमा बढ्दा यस धातु सर्वसाधारणको पहुँचभन्दा बाहिर पुगेको छ। सरकारले बजेट मार्फत थप भन्सार बढाउँदा समेत सुनको मूल्य वृद्धिमा सहयोग पुगेको हो।
लकडाउन पछि किन बढिरहेको छ नेपालमा सुनको मूल्य ?
विश्व महामारी कोरोना भाइरसको संक्रमण पश्चात विश्वमा नै पहेँलो धातु सुनको मूल्य बढिरहेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपालमा पनि असर परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
कोरोना भाइरस संक्रमण पश्चात अमेरिकी फेडरल बैंकले रिपोको ब्याजदर घटाएको छ। विश्वका शेयर बजार पनि घटेकाले लगानीकर्ता आकर्षित हुन सकेका छैनन्। यसैगरि अन्तर्राष्ट्रिय क्षेत्रमा अझै पनि कतिपय देशहरुमा उद्योग कलकारखानाहरु बन्द अवस्था नै रहेका छन्।
यसले विश्वका लगानीकर्ताहरुलाई सुन र डलरमा लगानी गर्न प्ररित गरेको छ। जसले नेपाली बजारमा सुनको मूल्य उच्च दरमा बढ्न पुगेको हो।
त्यस्तै सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७।७८ को बजेटले सुनको भन्सार शुल्क बढाएकाले त्यसको पनि असर मूल्यमा देखिएको हो । बजेट पश्चात सुनमा प्रतितोला २ हजार ३०० रुपैयाँ भन्सार वृद्धि भएको छ। अहिले एक तोला सुन किन्नेले १० हजार रुपैयाँ राजश्व सरकारलाई तिर्छ।।
कोरोनाका कारण विश्वभरका व्यवसायीहरुले सञ्चालन गरिहेका व्यवसायहरु सञ्चालन हुन नसकेर बन्द छ। कोरोनाका कारण विश्वका व्यवसायीहरु नयाँ क्षेत्रमा लगानी गर्न उत्साहित छैनन्। यसले लगानी सुनतिर गएको छ।
अर्काेतर्फ अर्थतन्त्र कता जान्छ भन्ने अन्यौलताको बीच व्यवसायीहरुले सुनमा गरिने लगानी नै सुरक्षित देख्दा सुनको माग दिनप्रतिदिन बढ्दै गइरहेको छ। सुनको माग धान्नेगरि उत्पादन बढ्न सकेको छैन। उच्च माग र न्यूत आपूर्तिका कारण पनि सुन महङ्गो भैरहेको छ। बजेटले बढाएको भन्सार शुल्कले पनि नेपालमा मूल्य वृद्धिमा असर पुगेको हो।
प्रतिक्रिया