नेपाल धितोपत्र बोर्डले झण्डै तीन महिनादेखि बन्द रहेको शेयर कारोबार के कसरी खुलाउने भन्ने बिषयमा आइतबार निर्णय लिने भएको छ।
आइतबार बस्ने बोर्ड संचालक समितिको बैठकले कहिलेदेखि र कसरी बजार खुलाउने भन्ने बिषयमा निर्णय लिने बोर्ड स्रोतले जानकारी दियो । शेयर बजार खुलाउने बिषयमा धितोपत्र बोर्डबाट गठित अध्ययन समितिले दिएको प्रतिवेदनको आधारमा बजार खुलाउन लागिएको हो।
अध्ययन समितिले दुई वटा मोडालिटी प्रस्ताव गरेको छ । पुरानै मोडालिटी बमोजिम कारोबार संचालन भएमा सोमबार र नयाँ मोडालिटी अनुसार कारोबार खुलेमा मंगलबारदेखि खुल्ने बोर्डका एक अधिकारीले जानकारी दिए।
अध्ययन समितिले शेयर कारोबार अनलाइन प्रणाली पूर्ण स्वचालित नभएपनि शेयर लगानीकर्ताहरुले घरमै बसेर कारोबार गर्नसक्ने अवस्था रहेको निष्कर्षसहितको प्रतिवेदन दिएपछि बोर्ड बजार खुलाउन तातिएको हो।
समितले दिएको सुझाब अनुसार सामान्य अवस्थामा बजार सञ्चालन भए दैनिक ५ घण्टा कारोबार खुल्ने, शेयरमूल्य १० र इन्डेक्स ६ प्रतिशतसम्म घटबढ हुन पाउने साविककै व्यवस्था रहनेछ । यदि परिवर्तित व्यवस्था अनुसार बजार खुलेमा कारोबार समय घटाइनेछ भने शेयरमूल्य र इन्डेक्स घटबढ हुने नयाँ सीमा निर्धारण गरिनेछ । कति समय बजार खुलाउने र के कसरी खुलाउने भन्ने बिषयमा आइतबार बस्ने बैठकले तय गर्ने ति अधिकारीले बताए।
विश्वप्यापी रुपमा फैलिएको कारोनाको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि तीनमहिनादेखि बजार बन्द रहेको छ। लकडाउनकै बीचमा केहि व्यवस्थाहरु परिमार्जन गरेर दुई दिन बजार खुलेको भएको पनि त्यसयता लगातर बजार बन्द रहेको थियो।
धितोपत्र बोर्ड र लगानीकर्ताका विभिन्न सङ्घ सङ्गठनका प्रतिनिधिबीच शुक्रबार भएको सहमति अनुसार धितोपत्रको दोस्रो बजार सुचारु गर्ने वातावरण बनेको हो ।
प्रतिक्रिया