शेयर कारोबार भोलिदेखि खुल्ने, कारोबार समय घट्ने सम्भावना

0
Shares

नेपाल धितोपत्र बोर्डले झण्डै तीन महिनादेखि बन्द रहेको शेयर कारोबार सोमबारदेखि खुलाउने भएको छ।

आइतबार बसेको बोर्ड संचालक समितिको बैठकले सोमबारदेखि शेयर कारोबार संचालन गर्न नेप्सेलाई निर्देशन दिने र सोहि व्यहोरा अर्थमन्त्रालयमा जानकारी गराउने निर्णय गरेको बोर्ड स्रोतले जनाएको छ ।

सोमबारदेखि शेयर कारोबार संचालनमा आउने भएपनि कुन मोडालिटीबाट संचालन गर्ने भन्ने जिम्मा नेप्सेको रहेको ति अधिकारीले बताए। बोर्डले बजार खुलाउन आजै नेप्सेलाई निर्देशन दिएको र बजार कसरी संचालन गर्ने भन्ने मोडालिटी नेप्सेले बनाउने भएको हो।

“सोमबार देखि धितोपत्र बजार खुल्छ तर, कस्तो मोडालीटीमा खुलाउने भन्ने जिम्मा नेपाल स्टक एक्सचेन्जलाइ नै छोडिनेछ” स्रोतले भन्यो, “अध्ययन समितिले पनि धितोपत्रको कारोबार खुलाउन उपयुक्त रहेको र लगानीकर्ताले घरवाट धितोपत्रको खरिद बिक्री गर्न सक्ने अवस्था रहेको हुँदा बजार खुलाउने निर्णय गरेको हो ।”

धितोपत्र बोर्डको सञ्चालन समितिको बैठकले बजार खुलाउने निर्णय गरेको भएपनि नेप्सेलाई भने पत्राचार भैसकेको छैन । धितोपत्र बोर्डमा सम्पर्क गर्दा भोलिदेखि शेयर कारोबार खुलाउने बोर्डको निर्णय भएको जानकारीमा आएको नेप्सेका प्रमूख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले बताए । “बोर्डको पत्र आइसकेको छैन,” उनले भने, “ बोर्डको पत्र आएपछि नेप्सेको सञ्चालक समितिको बैंठकले सेयर कारोबार कस्तो ढाँचामा गर्ने भन्ने निर्णय गर्नेछ ।”

नेप्सेले सोमबार देखि सेयर कारोबार गर्नका लागि सार्वजनिक यातायात सञ्चालनमा नआएको हुनाले कारोबार समय घटाउने पक्षमा देखिन्छ । नेप्सेले अन्य कारोबार संयन्त्र नियमत जस्तै कायम राख्ने भएपनि कारोबार समयलाई ४ घण्टामा झार्ने योजनामा देखिएको छ । नेप्सेको नियमीत कारोबार समय ५ घण्टा हो ।

धितोपत्र बोर्डले कोरोनाभाइरसका कारण लकडाउन गरीएको अवस्थामा गत चैत ११ गते देखि बजार बन्द गर्ने निर्णय गरेको थियो । त्यसपछि बोर्ड तथा नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कारोबार संयन्त्रमा परिवर्तन गरेर बैंशाख ३१ र ३१ गते बजार खुलेको थियो । लकडाउनका विचमा खुलेको बजार उच्च अंकले घटेपछि लगानीकर्ताको चर्को विरोधपछि पुन बजार बन्द भएको थियो ।

शेयर कारोबार खोल्ने मोडालिटीका दुई विकल्प, ढिलोमा मंगलबारदेखि

सरकारले लकडाउन खुकुलो गरेसंगै आर्थिक गतिविधिहरु सूचारु भएको करिब २ साता वितीसक्दा पनि शेयर बजार बन्द नै रह्यो । कोरोना भाइरसका कारण अर्थतन्त्र प्रभावीत भएपछि सेयर बजारपनि घट्ने त्रासमा केही लगानीकर्ता थिए भने केही घट्यो भने किन्ने अवसरको पर्खाईमा थिए । शेयर बजार खुलाउन भन्दा पनि लगानीकर्ताहरु बजार घटेको अवस्थाममा पनि कम असर गर्ने बातावरण तयार गर्नका लागि नीतिगत सुधारका माग राख्दै नियामक धाउन थाले ।

धितोपत्र बजार स्वतन्त्र चल्नु पर्ने भन्दा पनि लगानीकर्ताको इच्छा अनुसार चल्नु पर्ने र सधै वढी रहनु पर्ने माग राख्दै समय समय आन्दोलन गर्ने लगानीकर्तालाई सम्झौतामा वाधेर धितोपत्र बोर्डले सोमबार देखि बजार खुलाउने निर्णय गरेको हो ।

शेयर बजार खुलाउने बिषयमा धितोपत्र बोर्डबाट गठित अध्ययन समितिले दिएको प्रतिवेदनको आधारमा बजार खुलाउन लागिएको हो। अध्ययन समितिले शेयर कारोबार अनलाइन प्रणाली पूर्ण स्वचालित नभएपनि शेयर लगानीकर्ताहरुले घरमै बसेर कारोबार गर्नसक्ने अवस्था रहेको निष्कर्षसहितको प्रतिवेदन दिएपछि बोर्ड बजार खुलाउन तातिएको हो।

धितोपत्र बोर्ड र लगानीकर्ताका विभिन्न सङ्घ सङ्गठनका प्रतिनिधिबीच शुक्रबार भएको सहमति अनुसार धितोपत्रको दोस्रो बजार सुचारु गर्ने वातावरण बनेको हो ।

प्रकाशित मिति: १४ असार २०७७, आइतबार  १२ : ११ बजे