ब्रोकर कमिसन घटाउन अध्ययन समिति

0
Shares

नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल कम्पनीले शेयर खरिद बिक्री गराएबापत लिदै आएको कमिसन घटाउने विषयमा अध्ययन सुरु गरेको छ । बोर्डले हाल ब्रोकर कम्पनीले लिदै आएको कारोबार शुल्क उपयुक्त भए नभएको सन्दर्भमा बोर्डका उपकार्यकारी निर्देशकको संयोजकत्वमा समिति समेत गठन गरेर अध्यनन गर्न लागेको हो ।

धितोपत्र लगानीकर्ताले कारोबार कमिसन घटाउनु पर्ने माग गरेपछि धितोपत्र बोर्डले लगानीकर्ताको माग सम्बोधन गर्ने क्रममा अध्ययन समिति गठन गरेर प्रक्रिया सुरु गरेको हो । ब्रोकरहरूको कमिसनका सम्बन्धमा हालको बजारको अवस्था अध्ययन गरी अन्तर्राष्ट्रिय प्रचलन समेतका आधारमा आवश्यक सुझाव पेश गर्न समिति गठन गरी अध्ययन भैरहेको बोर्डले जनाएको छ ।

त्यसका साथै धितोपत्र बोर्डले लगानीकर्ताले ब्रोकर अफिसमा राखेको २५ प्रतिशत मार्जिन रकम ब्रोकरको स्वामित्वमा रहुन्जेल त्यसको लागत वापतको रकम लगानीकर्तालाई सम्झौता बमोजिम तिर्नु पर्नेकानुनी व्यवस्था थप गरि लगानीकर्तालाई सहज हुने व्यवस्था गरिएको जनाएको छ। 

त्यसैगरी सोमबार देखि धितोपत्र कारोबार सूचारु गर्नका लागि बोर्डले यो लकडाउनका विचमा सिडिएससिले शेयर खातामा रहेको शेयर ब्रोकरले परिक्षण गरि आदेश सम्पन्न गर्ने प्रक्रिया चाल्न र इडिआइएस मार्फत् विद्युतीय माध्यमबाटै शेयर ट्रान्सफर हुने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

नेप्सेलाई बैंक खाता र शेयर खाता समग्र कारोबार प्रणालीमा आबद्ध गरी शेयर लगानीकर्ताहरूलाई पूर्ण अनलाइन सेवा दिने व्यवस्था गरी जानकारी गराउन पत्राचार गरेको समेत धितोपत्र बोर्डले जनाएको छ ।

नेप्सेबाट सबै लगानीकर्ता, ब्रोकरहरूलाई एक हप्ता अगावै सूचना र विज्ञप्ति जारी गरि बैंक खाता कनेक्ट आइपिएस, यूजर आइडी तथा पासवर्ड आदि कारोबारको लागि चाहिने कुराहरू तयार गर्न समेत सूचित गरीसकेको बोर्डले जनाएको छ ।

लगानीकर्ताहरूले २०७७ असार मसान्तसम्म सबैले मेरो शेयर खाता खोल्न, युजर आइ डि र पासवर्ड लिन कुनै पनि शुल्क नलाग्ने हुँदा बढि भन्दा बढि लगानीकर्ताले उक्त सुविधा लिन प्रोत्साहन गरिएको समेत बोर्डले जनाएको छ ।

लकडाउन अघि धितोपत्र बिक्री गर्दा अनलाइन मार्फत कारोबार गर्ने लगानीकर्ताहरुको डिम्याट खातामा धितोपत्र रहे/नरहेको सम्बन्धमा कारोबार प्रणाली मार्फत एकिन गर्न सक्ने व्यवस्था रहेकोमा हाल उक्त व्यवस्थालाई परिमार्जन गरी ब्रोकर मार्फत (अफलाइन) कारोबार हुँदा समेत कारोबार प्रणाली मार्फत डिम्याट खातामा धितोपत्र रहे÷नरहेको एकिन गर्न सकिने व्यवस्था गरेको छ ।

लकडाउन अघि लगानीकर्ताले धितोपत्र बिक्रीपछि मेरो शेयर मार्फत प्रविष्टि गरेको भारित औषत लागत गणना राफसाफ सदस्यहरुले म्यानुअल प्रविष्टि गर्दै आइरहेकोमा हाल राफसाफ सदस्यहरुले म्यानुअल प्रविष्टि नगरी प्रणाली मार्फत एकमुष्ठ रुपमा प्रविष्टि हुन सक्ने व्यवस्था समेत गरेको बोर्डले जनाएको छ ।