नेप्से ६ प्रतिशतले बढ्दा बुधबारका लागि कारोबार बन्द

0
Shares

शेयर बजार परिसूचक मापक नेप्से तीन पटक सकारात्मक सर्किट लागेर ६ प्रतिशतले बढेपछि बुधबारका लागि कारोबार बन्द भएको छ । तेस्रो सर्किट लागेर कारोबार रोकिएसँगै अब बुधबार पुर्ण दिनको लागि शेयर कारोबार बन्द भएको हो।

यसअघि बजार खुलेको १३ मिनेटमा नै नेप्से ४ प्रतिशतले बढेर पहिलो सर्किट लाग्दा २० किनेटका लागि कारोबार रोकिएको थियो भने ११ बजेर ३३ मिनटमा खुलेको बजार थप ३ मिनेट नपुग्दै दोस्रो सर्किट लागेर पुन ४० मिनटका लागि कारोबार बन्द गरिएको थियो।

तेस्रो सर्किटपछि अब बिहीबार बिहान ११ बजे मात्रै शेयर कारोबार खुल्नेछ । लगानीकर्ताको दबाबपछि सरकारले पूँजीबजारमा सुधारको प्रकृया अगाडि बढाउनेगरि सम्झौता गरेर ९९ दिनपश्चात नियमित तरिकाले शेयर कारोबार खुला भएको थियो।

बैंकिङ्ग प्रणालीम लगानीयोग्य तरलरता रकम थ्रुपिएको अवस्था, लकडाउन पश्चात अन्य क्षेत्रमा भन्दा शेयर बजारमा लगानीका लागि सहजता, र पूँजीबजार सुधारको क्रम अगाडि बढ्नुलाई बजार सुधारका कारकको रुपमा विश्लेषण गरिएको छ।

लकडाउनअघि नै नेप्से घटेको तथा लामो समय शेयर कारोबार बन्द हुनुले पनि बजारमा उछाल ल्याएको बताइन्छ। अर्कोतर्फ एक ब्रोकर एक डिम्याटका कारण पनि कतिपय लगानीकर्ताले हाल कारोबार गर्न सकेका छैनन। यसका कारण पनि बजारमा माग र आपूर्ति बीच सन्तुलन कायम हुन नसक्दा पनि बजारमा अस्वभाविक वृद्धि आएको एक लगानीकर्ताले बताए।

बुधबार नेप्से सूचक ६.०१ प्रतिशत अर्थात ७५.७७ अंकले बढेर १३३६.५२ बिन्दुमा पुगेको छ । आज १३५ कम्पनीका ११ लाख १ हजार कित्ता शेयर ३ हजार ८९० पटक खरीद बिक्री हुँदा ४० करोड ७३ लाख ५२ हजार रुपैयाँको कारोबार भएको छ।

ठूला कम्पनीहरुको सूचक मापक सेन्सेटिभ इन्डेक्स ५.५० प्रतिशत अर्थात १५.१० अंकले बढेर २८७.०२ अंकमा उक्लिएको छ।  होटल बाहेक सबै उपसमूहका सूचक बढेका छन् भने नेपाल लाईफको सबैभन्दा धेरै ६ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भयो। यस्तै ४ करोड ९९ लाखको कुमारी बैंक संस्थापक शेयर, ४ करोड २४ लाखको हिमालयन डिष्टिलरी, २ करोड ५७ लाखको शिवम् सिमेन्टस्को शेयर कारोबार भएको छ। एनआईसी एशिया, एनएमबि बैंक, लागरिक लगानी कोष, नेपाल पुनर्बीमा कम्पनी र नबिल बैंकको पनि १ करोड बढीको कारोबार भएको छ।

आजको बजारमा ६ कम्पनीले मात्र गुमाएका छन् भने १२४ कम्पनीके शेयरमूल्य बढेको छ। सिटिजन्स बैंक, साना किसान लघुवित्त, नागरिक लगानी कोष, नेशनल लाईफ, आरएमडिसी लघुवित्त लगायत २८ कम्पनीको शेयरमूल्य ९ प्रतिशत धेरैले बढेको छ।