एनआरएन, किसान र दिव्य लघुवित्तले पूरा गरे मर्जर, शतप्रतिशत हकप्रद पछि २६ लाख कित्ता एफपीओ

0
Shares

किसान माइक्रोफाइनान्स, एनआरएन लघुवित्त र दिव्य लघुवित्तले मर्जर प्रकृया पूरा गरेका छन् । योसँगै बनेको नयाँ संस्था एनआरएन लघुवित्तले असार २९ गते सोमबारदेखि एकीकृत कारोबार सुरु गर्दैछ । यस अघि मिर्मिरे र नागबेलीसँग मर्जरमा जाने सम्झौता गरेको किसान माइक्रोफाइनान्स बीचमा नै मर्जरबाट बाहिरिएको थियो । सो पश्चात २० करोड ९२ लाख रुपैंया चुक्ता पूँजी भएको एनआरएन लघुवित्त, १० करोड ६६ लाख रुपैयाँ पूँजी भएको किसान र ७ करोड ७० लाख रुपैयाँ पूँजी भएको दिव्य लघुवित्त एक आपसमा मर्जरमा जाने सम्झौता गरेका थिए ।

तीन वटै लघुवित्तले एक बराबर एकको अनुपातमा शेयर आदान प्रदान हुने गरी मर्जरको स्वीकृति पाए पछि एकीकृत कारोबार सुरु गर्न लागेका हुन् ।

मर्जर पछि बनेको नयाँ संस्था एनआरएन लघुवित्तको चुक्ता पूँजी ३९ करोड २८ लाख रुपैयाँ पुगेको छ । नयाँ लघुवित्तको अधिकृत पूँजी १ अर्ब, जारी पूँजी ५२ करोड रुपैयाँ पुग्नेछ भने ४२ शाखामा १४२ शाखा बाट लघुवित्त सेवा प्रदान गर्नेछ ।

नयाँ संस्थामा प्रमुख कार्यकारी अधिकृत इन्द्रकुमार शाह हुनेछन् । शाह यस अघि पनि एनआरएन लघुवित्तको प्रमुख कार्यकारी अधिकृत थिए । नयाँ संस्थाको अध्यक्ष प्रमोद उप्रेती हुने छन् । उनी पनि यस अघि एनआरएन लघुवित्तको अध्यक्ष थिए ।

शतप्रतिशत हकप्रदपछि एफपीओ

साविकको किसान माइक्रोफाइनान्स मात्र नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको लघुवित्त हो । एनआरएन र दिव्य सूचीकृत नभएकाले सर्वसाधारण शेयरधनीको हिस्सा मिलाउनका लागि एनआरएन लघुवित्तले मर्जर लगत्तै शतप्रतिशत हकप्रद निष्काशन गरी सर्वसाधारणमा थप नयाँ शेयर निष्काशन गर्ने भएको छ ।

किसान माइक्रोफाइनान्सका तर्फबाट मर्जर समिति संयोजक रहेका खेमराज न्यौपानेले नोटबजारलाई दिएको जानकारी अनुसार शतप्रतिशत हकप्रद बिक्री गरे पछि लघुवित्तको चुक्ता पूँजी ७८ करोड ५६ लाख रुपैंया हाराहारी पुग्नेछ । सो पश्चात २६ लाख कित्ता थप नयाँ शेयर निष्काशन गरी संस्थापक र सर्वसाधारण शेयरधनीको हिस्सा ७० अनुपात ३० कायम हुनेछ भने लघुवित्तको चुक्ता पूँजी एक अर्ब ४ करोड रुपैयाँ नाघ्नेछ ।

यस अघि एनआरएन लघुवित्तले क्रिएटिभ माइक्रोफाइनान्स र रामारोशन माइक्रोफाइनान्सलाई आफुमा विलय गरिसकेको छ । सोमबारदेखि तीन लघुवित्तका बीचमा मर्जर पूरा भएसँगै एनआरएन लघुवित्तले ५ वटा मर्जर तथा विलय पूरा गराउनेछ ।