मुलुकको शोधनान्तर स्थिति १ खर्ब ७९ अर्ब ३७ करोड बचतमा

0
Shares

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको एघारौं महिना अर्थात जेठ मसान्तसम्म मुलुकको स्थिति १ खर्ब ७९ अर्ब ३७ करोड बचतमा रहेको जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९० अर्ब ८३ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको एघार महिनासम्ममा ८० करोड ३१ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा १ अर्ब ५० करोडले बचतमा रहेको छ ।

राष्ट्र बैंकका अनुसार यसअवधिमा कुल विदेशी विनिमय सञ्चिति १० अर्ब ७९ करोड अमेरिकी डलर रहेको छ । जसबाट ११.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्नेछ ।

राष्ट्र बैंकका अनुसार वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.५४ प्रतिशत रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा कम हो। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.१६ प्रतिशत रहेको थियो । एघार महिनाको औसत मुद्रास्फीति ६.२८ प्रतिशत छ ।

राष्ट्र बैंकका अनुसार आयात १५.३ प्रतिशतले घटेको छ भने निर्यात ०.२ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह ३.० प्रतिशतले घटेको छ ।

संघीय सरकारको बैंकिङ्ग कारोबारमा आधारित खर्च ८ खर्ब ४३ अर्ब ९४ करोड र राजस्व परिचालन ६ खर्ब ४७ अर्ब ८० करोड छ । विस्तृत मुद्राप्रदाय १२.९ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १७.५ प्रतिशतले बढेको छ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १३.३ प्रतिशतले र निजी क्षेत्रतर्फको कर्जा १०.७ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १८.१ प्रतिशत र कर्जाको वृद्धिदर ११.९ प्रतिशत छ ।