विदेशी विशिष्टीकृत लगानी व्यवस्थापकले नेपालमा पनि काम गर्न पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले विशिष्टीकृत लगानी कोष नियमावली, २०७७ लाई संशोधन गरी विदेशीमा संचालित कोष व्यवस्थापकले नेपालमा पनि कोष स्थापना तथा संचालन गर्न पाउने व्यवस्था गरेको हो।
धितोपत्र बोर्डले नियमावली संशोधन गरेर नेपाल सरकार अर्थ मन्त्रालयवाट स्वीकृत गराई साउन १ गते देखि लागू गरेको जनाएको छ । विशिष्टीकृत लगानी कोष सम्बन्धी नियमावलीमा विदेशी कोष र विदेशी लगानीलाई भित्र्याउन र प्राइभेट इक्वीटी फण्ड र भेन्चर क्यापिटल फण्डको दायरा विस्तार गरी डेब्ट इन्सन्ट्रुमेन्ट र ऋणलाई समावेश गर्न सोशोधन गरिएको छ।
विशिष्टीकृत लगानी कोष व्यवस्थापन गर्ने व्यवस्थापकले स्वदेशी मात्र नभै विदेशी कोषको समेत व्यवस्थापन गर्न पाउने छन् । शंसोधित नियमावलीमा विदेशमा दर्ता भएको कोष वा कोष व्यवस्थापकले प्रचलित नेपाल कानूनको अधिनमा रही त्यस्तो कोष वा कोष व्यवस्थापकको पूर्ण वा अधिकांश स्वामित्वमा नेपालमा कोष स्थापना वा कोष व्यवस्थापनको कार्य गर्न सक्ने व्यवस्था गरिएको छ ।
प्राइभेट इक्वीटी फण्डको दायरा विस्तार गरी प्राइभेट इक्वीटीको परिभाषामा साधारण शेयरमा परिवर्तनीय धितोपत्र वा ऋणको स्वरुप भएको उपकरण वा ऋण वा स्वः पूँजीसँग सम्बन्धित अन्य उपकरण मार्फत लगानी गर्ने कोष भनी स्पष्ट गरेको छ ।
नियमावलीले भेन्चर क्यापिटल फण्डको दायरा विस्तार गरी परिभाषामा ऋणको स्वरुप भएको उपकरण वा ऋण लगानी गर्ने कोष समेत थप गरेको छ ।
योग्य लगानीकर्तामा द्विपक्षीय वा बहुपक्षीय अन्तराष्ट्रिय संस्थागत लगानीकर्ताको साथै विदेशी व्यक्ति, विदेशी फर्म, विदेशी कम्पनी, विदेशी संस्थागत लगानीकर्ता, विदेशमा दर्ता भएको कोष, विदेशी कोष व्यवस्थापक र अन्य यस्तै प्रकारको संगठित संस्थालाई समावेश गरिएको बोर्डले जनाएको छ ।
उक्त नियमावलीको संशोधनका व्यवस्थाहरुले पूँजी बजारमा विदेशी कोष र लगानीलाई भित्र्याउन सहज गर्न सक्ने अपेक्षा बोर्डको छ ।
प्रतिक्रिया