सनराइज बैंकलाई निक्षेपकर्ताको हितमा काम गर्न राष्ट्र बैंकको निर्देशन

0
Shares

नेपाल राष्ट्र बैंकले सनराइज बैंकलाई बैंक भित्रको आन्तरिक समस्या आफैँ सुल्झाएर अघि बढ्न सुझाव दिएको छ । आन्तरिक विवादलाई बाहिर लगेर संस्था तथा निक्षेपकर्तालाई असर हुने काम नगर्न केन्द्रीय बैंकले निर्देशन दिएको हो।

सनराइज बैंकको विवाद सतहमा आएपछि केन्द्रीय बैंकले चासो देखाउँदै आइतबार छलफलका लागि बोलाएको थियो ।

आइतबार बैंकका सञ्चालक समितिसँग छलफल गरेर समस्याको विषयमा जानकारी लिँदै समस्या सुल्झाएर अघि बढ्न सुझाएको राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए ।

“बैंक स्थायित्व र निक्षेपकर्ताको हित हुने गरी काम गर्न भनेका छौं,” छलफलमा सहभागी केन्द्रीय बैंकका एक अधिकारीले भने,“विवादलाई आन्तरिक रुपमा नै सुल्झाउन भनेका छौं ।” आगामी दिनमा केन्द्रीय बैंकले यसै विषयलाई लिएर पुनः छलफल गर्न नपरोस् भन्ने चाहेको समेत ति अधिकारीको भनाई छ ।

सनराइज बैंकको समस्या अब पनि आन्तरिक रुपमा सुल्झिएन र पुनः केन्द्रीय बैंकमा पुगेको खण्डमा विवादको अवस्था अनुसार सञ्चालक समिति नै भङ्ग गरेर नयाँ सञ्चालक समिति गठन हुनेछ । यसभन्दा अघि बैंक अफ काठमाण्डूको सन्दर्भमा पनि केन्द्रीय बैंकले हस्तक्षेप गरेर नयाँ सञ्चालक समिति गठन गरेर फिर्ता भएको विगतको अनुभव छ ।

यसभन्दा अघि पनि सनराइज बैंकको सञ्चालक समितिमा गुटवन्दी देखिएपछि प्रमूख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय भएपनि निरज श्रेष्ठले जिम्मेवारी नसम्हाली बाहिरिएका थिए ।

आजभन्दा करिब १३ महिना अघि प्रमूख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका शर्माले राजीनामा दिएको विषय बाहिर आएपछि यो विषय केन्द्रीय बैंकसम्म पुगेको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।