चुक्ता पूँजी नपुर्याउने लघुवित्तको कार्यक्षेत्र प्रदेशस्तरमा सीमित, हकप्रद बिक्रीमा रोक

0
Shares

नेपाल राष्ट्र बैंकले तोकिएको चुक्ता पूँजी नपुर्याउने लघुवित्त संस्थालाई कार्यक्षेत्र एउटा प्रदेशमा मात्र सीमित गर्न निर्देशन दिएको छ ।

‘एकभन्दा बढी प्रदेशमा समेत शाखा कार्यालय खोली कारोबार सञ्चालन गरेका लघुवित्त वित्तीय संस्थाहरुले २०७८ असारभित्र उक्त शाखा बिक्री, बन्द वा स्थानान्तरण गरी आफ्नो सम्पूर्ण कार्यक्षेत्र एउटै प्रदेशभित्र सीमित गरी सक्नुपर्ने छ’ राष्ट्र बैंकले मंगलबार जारी गरेको निर्देशनमा भनिएको छ ।

तर, तोकिएको चुक्तापूँजी पुर्याएर राष्ट्रियस्तरमा स्तारोन्नोेति भएका संस्थालाई यो नियम लागु नहुने केन्द्रीय बैंकले जनाएको छ। पूँजी पुगेका लघुवित्त वित्तीय संस्थाहरुको शाखा नभएका स्थानीय तहका वडाहरुमा शाखा/कार्यालय खोल्न यस राष्ट्र बैंकको पूर्व स्वीकृति लिनु नपर्ने व्यवस्था गरेको छ ।

तर, काठमाडौं उपत्यका, महानगरपालिका र उपमहानगरपालिकामा लघुवित्त वित्तीय संस्थाहरुको शाखा नभएका स्थानीय तहका वडाहरुमा शाखा खोल्न भने स्वीकृति आवश्यक पर्ने राष्ट्र बैंकले जनाएको छ । साथै, शाखा कार्यालय खोल्दा कारोबार शुरु गरेकै दिन उक्त शाखासम्बन्धी विवरण राष्ट्र बैंकको वेब पोर्टलमा अद्यावधिक गर्नुपर्नेछ ।

मर्जर तथा प्राप्तिको प्रक्रियाबाट नै चुक्ता पूँजी तथा पूँजीकोष सुदृढ भई भरपर्दो वित्तीय सेवा सुनिश्चित होस् भन्ने अभिप्रायले लघुवित्त वित्तीय संस्थाहरुलाई हकप्रद शेयर जारी गर्ने गरी प्रबन्धपत्र तथा नियमावलीको संशोधन स्वीकृति प्रदान नगरिने पनि राष्ट्र बैंकले प्रष्ट पारेको छ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ साउन २०७७, मंगलबार  १८ : ३६ बजे