सस्ता कम्पनी छान्दै शेयर लगानीकर्ता, माइक्रोफाइनान्समा बिक्री चाप

0
Shares

मौद्रिक नीतिको प्रभावले उचालिएको शेयर बजारमा करेक्सन आउन थालेपछि शेयर लगानीकर्ताहरुको ध्यान सस्ता कम्पनीमा पुगेको छ।

छोटो समयमै बजारबाट नाफा सुरक्षित गरेका लगानीकर्ताहरुको रोजाईमा आईपीओभन्दा पनि सस्तो भाउ भएका कम्पनी परेपछि ती कम्पनीहरुको माग बढेको छ । जसले गर्दा सस्तो मूल्यका अधिकांश कम्पनीको शेयरमूल्य उच्चदरले बढेको छ ।

सस्ता कम्पनीमा खरिदको चापपर्दा आधादर्जन कम्पनीको शेयरमुल्य झण्डै दश प्रतिशतका दरले बढेको छ । यस्ता कम्पनीहरुको शेयर मूल्य बढे पनि भाउ भने आईपीओ झण्डै आधा मूल्य नै रहेको छ । बुधबारको बजारमा आईपीओभन्दा सस्तो र आईपीओकै हाराहारीमा रहेका अधिकांश कम्पनीको माग बढेको देखिन्छ । माग बढ्दा यी कम्पनीहरुको शेयर मूल्यमा पनि सुधार आएको छ ।

विशेषगरी जलविद्युत कम्पनीहरूको शेयरमा लगानीकर्ता आकर्षित भएका छन् । जलविद्युत कम्पनीहरुको शेयर मूल्य अत्यन्तै सस्तो भएकाले पनि लगानीकर्ताको रोजाईमा परेका हुन् । यसदिन सर्वाधिक शेयर मूल्य बढ्ने दश कम्पनीको सूचीमा ८ कम्पनी जलविद्युत समूहकै छन् । मिर्मिरे माइक्रो र आरम्भ चौतारी पनि शेयर मूल्य उच्चदरले बढ्ने दश कम्पनीमा अटाएका छन् ।

यसदिन शेयर मूल्य दश प्रतिशत बढेका युनियन हाइड्रको शेयरमूल्य प्रतिकित्ता ५५ तथा जोशी हाइड्रको ६६ रुपैयाँ पुगेको छ । घलेम्दीको ५४, दिव्यश्वरीको ५४, खानीखोलाको ५०, आँखुखोलाको ५२, माउन्टेन हाइड्रोको ८८ र पाँचथर पावरको शेयरमूल्य ११९ रुपैयाँ पुगेको छ ।

त्यस्तै आइपीओको हाराहारीमा शेयर मूल्य रहेका ग्रीन डेभलपमेन्ट बैंक, समृद्धि फाइनान्स, रैराङ हाइड्रो, मल्टीपरपोज फाइनान्स, युनिभर्सलपावर हिमालयन उर्जा, रिडी लगायत कम्पनीको शेयरमूल्यमा सुधार आएको छ । यस दिन कुल २९ कम्पनीको शेयरमूल्य बढेकोमा अधिकांश जलविद्युत, केही फाइनान्स र माइक्रोफाइनान्स कम्पनी रहेका छन् । केही म्युचुअल फण्डहरुको पनि शेयर मूल्यमा सुधार देखिएको छ ।

Symbol  LTP  Pt. Change  % Change 
JOSHI 66.00 6 10
UNHPL 55.00 5 10
MMFDB 961.00 87 9.95
ACLBSL 492.00 43.93 9.8
GHL 58.00 5 9.43
DHPL 54.00 4.1 8.22
AKJCL 52.00 3.9 8.11
KKHC 50.00 3.75 8.11
MHNL 88.00 4 4.76
PPCL 119.00 5 4.39

यसदिन सबैभन्दा धेरै गुमाउनेमा माइक्रोफाइनान्स कम्पनी छन् । जनउत्थान लघुवित्त, ग्लोबल आइएमई, मिथिला, स्पर्श तथा नेपाल सेवा लघुवित्त लगायतको शेयरमूल्य उच्चदरले घटेको छ ।

जलविद्युत समूहका अधिकांस समूहको शेयरमूल्य बढे पनि उपसूचक भने राताम्मे छ । यसदिन कारोबार आएका सबै समूह घटेको छन् । यसदिन नेप्से २३.३६ अंकले घटेर १४३१.५२ अंकमा झरको छ । ३८ लाख कित्ता शेयर किनबेच भएको बजारमा एक अर्ब ६८ करोड बराबरको शेयर किनबेच भएको छ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।