हकप्रद निष्काशनमा राष्ट्र बैंकको कडाइ, शाइन रेसुङ्गाको अस्वीकृत

0
Shares

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई हकप्रद निष्काशन गर्न नदिने नीति अख्तियारी गरेको छ ।

मौद्रिक नीतिमार्फत हकप्रद निष्काशनमा कडाइ गरेको राष्ट्र बैंकले यसअघिका प्रस्ताव समेत अस्वीकृत गरेको छ । यसै क्रममा राष्ट्र बैंकले शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक (SHINE) को हकप्रद निष्काशन गर्ने प्रस्ताव अस्वीकृत गरेको छ ।

बैंकको एघारौं वार्षिक साधारण सभाले चुक्ता पूँजीको चार बराबर एक अर्थात २५ प्रतिशत हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गरेर राष्ट्र बैंकमा निवदेन दिएको थियो ।

राष्ट्र बैंकले मर्जर तथा एक्विजिशनलाई प्रोत्साहन गरेकाले थप मर्जर तथा एक्विजिशनमा जान सुझाव दिएको बैंकका डेपुटी जनरल म्यानेजर सार्जन भट्टराइले जानकारी दिए ।

अहिले बैंकमा ५४.८५ प्रतिशत तथा सर्वसाधारणको ४५.१५ प्रतिशत शेयर स्वामीत्व छ । त्यसलाई ५१:४९ कायम गर्न ६ प्रतिशत बढी संस्थापक शेयर साधारणमा रुपान्तरण गरिने पनि उनले जानकारी दिए।

आव २०७५।७६ को मुनाफाबाट चुक्ता पूँजी २ अर्ब ६२ करोड २९ लाख ४ हजार १२३ रुपैयाँको १५ प्रतिशत बोनस शेयर वितरण गरेको बैंकको चुक्ता पूँजी ३ अर्ब १ करोड ६३ लाख ३९ हजार ७४२ रुपैयाँ छ ।

साना साना विकास बैंकहरुलाई गाभ्दै राष्ट्रियस्तरको विकास बैंकमा बढुवा भएको बैंकले भार्गव विकास बैंक र पूर्णिमा विकास बैंकलाई प्राप्ति गरेको थियो ।

यसअघि शाइन रेसुङ्गा बैंकले प्युठानलाई कार्यक्षेत्र बनाई सञ्चालनमा रहेको गौमुखी विकास बैंकलाई गाभेको थियो। त्यसैगरी रुपन्देहीमा स्थापित शाइन र गुल्मीमा स्थापित रेसुङ्गा एक आपसमा गाभिएर साइन रेसुङ्गा डेभलपमेन्ट बैंक बनेको थियो।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।