नेपाली बजारमा सुनचाँदीको मूल्यले प्रतिदिन नयाँ कीर्तिमानी कायम गर्ने क्रममा मंगलबार हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले साउन २० गते मंगलबारका लागि छापावाल सुन प्रतितोला ९९ हजार ८०० रुपैयाँ तेजावी ९९ हजार ३७५ रुपैयाँ तथा चाँदी १ हजार २३० रुपैयाँ तोकेको छ ।
आइतबारको तुलनामा सुनको भाउ प्रतितोला २०० सय रुपैयाँले बढेको हो । सोमबार आइतबारकै भाउमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले साउन १९ गते सोमबारका लागि छापावाल सुन प्रतितोला ९९ हजार ६०० रुपैयाँ तेजावी ९९ हजार १६० रुपैयाँ तथा चाँदी १ हजार २३० रुपैयाँ तोकेको थियो ।
चाँदीको भाउ यसअघि साउन १३ गते १ हजार २४५ रुपैयाँसम्म पुगेको थियो।
अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धिसँगै यहाँ पनि भाउले दिनहुँ नयाँ ‘रेकर्ड’ बनाएको हो । नेपालमा अन्तर्राष्ट्रिय बजारमा निर्धारण हुने सुनको भाउ अनुसार मूल्य निर्धारण हुने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा नै सुनमा लगानीकर्ता आकर्षित बन्दा त्यसको प्रत्यक्ष असर स्थानीय बजारमा पर्न गएको हो ।
हङकङका कारण चीन र अमेरिकाबीच उत्पन्न तनाव, कोरोना भाइरसका कारण लगानीका अन्य क्षेत्रभन्दा सुन रोजाइमा पर्नु, बजेट मार्फत बढाइएको भन्सारदरका कारण पनि नेपाली बजारमा सुनको मूल्य बढ्नुको कारण रहेको जानकारहरु बताउँछन्।
यसका अलवा अमेरिकी केन्द्रीय बैंकले बन्ड रकममा दिँदै आएको ब्याजदर घटाएकाले पनि सुनको मूल्य बढेको सुनचाँदी व्यवसायीको भनाइ छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया