स्टक डिलरले एक हजार कित्ताभन्दा कम शेयर खरीद बिक्री गर्न नपाउने

0
Shares

नेपाल स्टक एक्सचेञ्ज नेप्सेले धितोपत्र ब्यापारी स्टक डिलर कार्य संचालन कार्यविधि २०७७ लागू गरेको छ । नेप्से संचालक समितिको निर्णय अनुसार उक्त कार्यविधि आगामी भदौ १ गतेदेखि कार्यन्वयनमा आउनेछ ।

कार्यविधिमा स्टक डिलर कम्पनीले एक पटकमा एक हजार कित्ताभन्दा कम शेयर खरीद बिक्री गर्न नपाउने व्यवस्था गरिएको छ । साथै स्टक डिलरले कम्पनीको चुक्ता पूँजीको आधारमा शेयर खरीद बिक्रीका लागि सीमा निर्धारण गरिएको छ ।

स्टक डिलर कम्पनीले जुनसुकै कम्पनीको पनि एक पटकमा एक हजार कित्ताभन्दा कम परिमाणको खरिद वा बिक्री आदेश गर्न नपाउने व्यवस्था कार्यविधिले गरेको छ । यस्तै स्टक डिलरले एक दिनभन्दा बढी बहाल रहने गरी प्रणालीमा खरीद बिक्री आदेश प्रविष्ट गर्न नपाइने व्यवस्था पनि कार्यविधिले गरको छ ।

उक्त कार्यविधिमा स्टक डिलरले ८ अर्ब रुपैयाँ वा सोभन्दा बढी चुक्ता पूँजी भएका कम्पनीहरुको ५० हजार कित्तासम्म शेयर खरीद पाउने व्यवस्था गरिएको छ ।

यस्तै ५ अर्बदेखि ८ अर्ब रुपैयाँभन्दा कम चुक्ता पूँजी भएको कम्पनीको ४० हजार, २ अर्ब रुपैयाँभन्दा बढी र ५ अर्बसम्म चुक्ता पूँजी भएको कम्पनीको ३० हजार र १ अर्ब रुपैयाँदेखि २ अर्ब रुपैयाँसम्म चुक्ता पूँजी भएको कम्पनीको २५ हजार कित्तासम्म शेयर खरिद गर्न सक्ने व्यवस्था गरेको छ ।

यसैगरी ५० करोडदेखि एक अर्ब रुपैयाँसम्म चुक्ता पूँजी भएका कम्पनीको २० हजार कित्ता, २० करोड रुपैयाँभन्दा बढी र ५० करोडभन्दा कम चुक्ता पूँजी भएको कम्पनीको १० हजार कित्तासम्म मात्र शेयर खरीद गर्न पाउने व्यवस्था गरिएको छ। २० करोड रुपैयाँभन्दा कम चुक्तापूँजी भएको कम्पनीलाई नियमति कारोबारमा संलग्न गर्न नपाउने व्यवस्था छ ।

स्टक डिलर कम्पनीले एक दिनमा आफ्नो नटवर्थको अधिकतम ६० प्रतिशत रकम सीमासम्म मात्र कारोबार गर्न पाउने व्यवस्था छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।