सामाजिक उत्तरदायित्वको रकम कोरोना कोषमा दिन सुरु

0
Shares

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्वको कोषमा रहेको रकम कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा गर्न थालेका छन् ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत बैंक वित्तीय संस्थाको सामाजिक उत्तरदायित्वका लागि खर्च गर्ने रकम कोरोना संक्रमण रोकथामका लागि प्रदान गर्ने व्यवस्था गरेको छ ।

सोही अनुसार केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाको २०७७ असार मसान्तमा संस्थागत सामाजिक उत्तरदायित्व कोषमा बाँकी रहेको सम्पूर्ण रकम २०७७ साउन मसान्तभित्र नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा गर्न निर्देशन दिएको छ ।

सोही निर्देशनका आधारमा नेपाल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कोषमा रहेको ३ करोड ४६ लाख रुपैयाँ नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषलाई प्रदान गरेको छ । सो रकम बराबरको चेक मंगलबार अर्थमन्त्री डा.युवराज खतिवडालाई बैंकका अध्यक्ष वासुदेव अधिकारीले हस्तान्तरण गरेका हुन् ।

बैंकले हरेक वर्ष नाफाको एक प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्छ । बैंक वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व कोषमा जम्मा भएको रकम सामाजिक क्षेत्रको सुधारका लागि खर्च गर्छन् । बैंकले हालसम्म संघीय सरकारको कोषमा ४ करोड ४६ लाख र प्रदेश सरकारहरुलाई ५ लाखका दरले ३५ लाख गरी कुल ४ करोड ८१ लाख रुपौयँ आर्थिक सहयोग गरेको जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।