कोरोनाको त्रास बढ्दै जाँदा शेयर बजारको चमक हरायो, अन्यौलमा लगानीकर्ता

0
Shares

सरकारले कोरोना संक्रमणको दर बढ्न थालेपछि कोरोना रोकथाम तथा नियन्त्रणका लागि अघोषित लकडाउन लागू गरेपछि शेयर बजारको चमक हराउन थालेको छ ।

कोरोनाको त्रास बढ्दै जाँदा सरकारले बैंक तथा वित्तीय संस्था लगायत सरकारी तथा गैरसरकारी कार्यालहरुमा आलोपालो प्रणालीसहित अधिकतम ५० प्रतिशत कर्मचारीबाट काम चलाउन निर्देशन जारी गरेको छ ।

त्यस्तै नेप्सेले पनि ब्रोकर कार्यालयहरुलाई स्वास्थ्थ सुरक्षाका मापदण्डहरु पालना गर्दै भौतिकभन्दा पनि अनलाइन कारोबार गर्न गराउन जोड दिएको छ । सवारी साधानमा पनि जोर-बिजोर प्रणाली लागू भएको छ । यसले गर्दा ब्रोकर कम्पनीहरुमा लगानीकर्ताको चहलपहल कम हुँदै जाँदा कारोबार शिथिल हुँदै गएको छ ।

बजारका लगानीकर्ताहरुको पनि शेयर खरीदभन्दा बिक्रीमा चाप देखिएको छ । नियामक निकायहरुले अनलाइनलाई प्रोत्साहन गर्न भने पनि अझै पनि कतिपय लगानीकर्ता अनलाइन अभ्यस्त भइसकेकाले पनि शेयर कारोबारमा कमी आएको हो।

पहिलो चरणको लकडाउन खुलेपछि विस्तारै अर्थतन्त्र तंग्रने आशा पलाइरहेका बेला पुनः दोस्रो चरणको लकडाउन लागू भएपछि लगानीकर्ताको आत्मविश्वास कमजोर बन्दै गएको देखिन्छ । लगानीका अन्यत्र क्षेत्रहरु नहुँदा पछिल्लो चरणमा शेयर बजारमा लगानीगर्ने बढेका थिए । तर, कोरोनाको असर सूचीकृत कम्पनीका प्रकाशित वित्तीय विवरणहरुमा देखिन थालेपछि भोलिका दिनमा के होला भन्ने चिन्ता लगानीकर्ताहरुको भएको पाईन्छ । यस्तै अन्योलतामा लगानीकर्ता रुमलिदा बजारमा नकारात्मक प्रभाव परेको हो ।

बिहीबार बजार खुलेदेखि नै ओरालो लागेको नेप्से १६.५३ अंकले घटेर १४०८.७९ विन्दुमा झरेको छ । १९१ कम्पनीको १ अर्ब रुपैयाँ बढीको कारोबार भएको बजारमा ३४ लाख ९ हजार ४६१ कित्ता शेयर खरिदबिक्री भएका छन् ।

यस दिन कारोबारमा आएका व्यापार समूह बाहेक सबै समूहका सूचक घटेका छन् । जीवन बिमा समूह सबैभन्दा धेरै ९९.५२ अंकले घटेको छ

दिव्यश्वरी हाइड्रोपावर र साधना लघुवित्तको भाउ १० प्रतिशतका दरले बढेको छ । नेपाल फाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै ५.६८ प्रतिशतले घटेको छ । नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै ७ करोड ३३ लाख रुपैयाँभन्दा बढीको कारोबार भयो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।