माछापुच्छ्रे बैंकले एक्यानका सदस्यहरुलाई बिना धितो १५ लाखसम्म प्रोफेशनल कर्जा उपलब्ध गराउने

0
Shares

माछापुच्छ्रे बैंक (MBL) ले नेपाल चार्टड एकाउन्टेन्ट संघ (एक्यान) मा आबद्ध सदस्यहरुलाई बिना धितोमा १५ लाखसम्मको प्रोफेशनल कर्जा उपलब्ध गराउने भएको छ। संघ र बैंक बीच विशेष बैंकिङ्ग सेवा सहित बिना धितोमा प्रोफेशनल कर्जाका लागि सम्झौता सम्पन्न भएको छ।

उक्त सम्झौतापत्रमा संघको तर्फबाट अध्यक्ष आनन्द राज शर्मा वाग्ले र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार एक्यानका सदस्यहहरुलाई ९.७५ प्रतिशत ब्याजदरमा सरल तरिकाबाट बैंकको १५९ शाखाबाट बिना धितोमा १५ लाख सम्मको प्रोफेशनल कर्र्जा प्रदान गरिनेछ । सम्झौतापछि संघका लगभग २ हजार ४०० सदस्यहरु लाई बैंकले विशेष प्राथमिकतामा राखेर बैंकिङ्ग सेवा प्रदान गर्नेछ । माछापुच्छ्रे बैंक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स सघंका सदस्यहरुलाई निक्षेप खाता, कर्जा तथा अन्य बैंकिङ्ग सुबिधाहमा विशेष सहुलियत प्रदान हुनेछ ।

संघका उपाध्यक्ष सीए रमेश धितालले अहिलेको महामारीबाट उत्पन्न हुने शिथिलताबाट वित्तीय क्षेत्रको उत्थानशीलता कायम गर्न र व्यवसायलाई पूर्ववत् अवस्थामा फर्काउन लेखा व्यवसायीको योगदान महत्वपूर्ण हुने बताए। चार्टर्ड एकाउन्टेन्टको सहजता लागि विभिन्न बैंक तथा वित्तीय संस्थाहरुसँग समेत समझदारीको लागि छलफल भैरहेको जानकारी दिए ।

संघका अध्यक्ष आनन्द राज शर्मा वाग्लेले लेखापरीक्षण पेशा हाल अधिकतम प्रविधिको प्रयोग गरेर काम गर्नुपर्ने अवस्था रहेको र स्रोतको व्यवस्थापन असाध्यै जटिल रहेको सन्दर्भमा यस्ता समझदारीले सदस्यको मनोबल समेत बढाउने बताए।

नेपाल चार्टर्ड एकाउण्टेण्ट्स देशमा लेखा ब्यवसायको संरक्षण एवम् सम्र्वदन गरी सुब्यवस्थित एवं सुचारु रुपले लेखा ब्यबसाय संचालन गराउने तथा सदस्यहरुको सामूहिक हितको संरक्षण गर्ने उदेश्यले वि.सं २०३५ सालमा स्थापना भएको गैरनाफामूलक, गैरराजनैतिक तथा नेपाली चार्टर्ड एकाउण्टेण्ट्सहरुको एक मात्र पेशागत संघ हो ।