निषेधाज्ञामा रेमिट्यान्स र विदेशी मुद्रा सहटी सेवा पनि उपलब्ध हुने

0
Shares

नेपाल राष्ट्र बैंकले रेमिट कम्पनीहरुलाई पनि रेमिट्यान्स भुक्तानीको सेवा नरोक्न निर्देशन दिएको छ । स्थानीय सरकारले निषेधाज्ञा जारी गरेपनि स्वास्थ्य सुरक्षाका मापदण्डलाई पूर्ण अबलम्बन गरी रेमिट्यान्स भुक्तानी दिन केन्द्रीय बैंकले निर्देशन दिएको हो । 

केन्द्रीय बैंकले स्थानीय प्रशासनसंग समन्वय गरेर सिमित कर्मचारी मार्फत रेमिट सेवा प्रदान गर्न रेमिट कम्पनीहरुलाइ आग्रह गरेको छ ।

विप्रेषण कम्पनीहरुले विदेशमा कार्यरत नेपाली नागरिकहरुले नेपाल पठाएको विप्रेषण उनीहरुका आफन्तलाई भुक्तानी गर्न नसक्दा दैनिक जिवनमा नै प्रभाव पर्ने भएकाले रेमिट्यान्स सेवा सुचारु राख्नु आवश्यक रहेको केन्द्रीय बैंकले जनाएको हो ।

विप्रेषणबाट घरव्यवहार चलाउनु पर्ने नागरिकहरुका लागि आप्ठ्यारो पर्न सकने भएकाले स्थानीय प्रशासनको निषेधाज्ञा लगायतका आदेश परिपालना हुने रेमिट कम्पनीलाइ सेवा प्रदान गर्न केन्द्रीय बैंकले निर्देशन दिएको हो । रेमिट्यान्स सेवा प्रबाह गर्न स्वास्थ्य सुरक्षासँग सम्बन्धित सबै मापदण्ड कायम गर्दै सम्बन्धित स्थानीय प्रशासनसँग समन्वय गरी सम्भव भएसम्म निश्चित समयका लागि आलोपालो मिलाई न्यूनतम कर्मचारीबाट विप्रेषण भुक्तानीको व्यवस्था गर्नुपर्ने छ ।

त्यसैगरी बैंक तथा वित्तीय संस्थासंग समन्वय गरी रेमिट्यान्स फण्ड ट्रान्सफर तथा विदेशी मुद्रा सहटी गर्ने एवं सम्भव भएसम्म विप्रेषण भुक्तानी बैंकमार्फत हुने व्यवस्था मिलाउन समेत केन्द्रीय बैंकले रेमिट कम्पनीहरुलाई अनुरोध गरेको छ । आफु अन्तर्गतका निकायहरुलाई स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरी भिडभाड नगर्न निर्देशन दिन समेत केन्द्रीय बैंकले जनाएको छ ।

विश्वभरी महामारीको रुपमा फैलिरहेको कोभिड १९ को संक्रमण काठमाडौं उपत्याका लगायत मुलुकका सबैजसो स्थानमा निरन्तर रुपमा बढिरहेकोले रोकथाम तथा नियन्त्रणका लागि उपत्यका लगायत विभिन्न स्थानीय प्रशासनबाट निषेधाज्ञा लगायतका विषेश आदेश जारी गरेका छन ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।