मिर्मिरे र नागबेली लघुवित्तको एकीकृत कारोवार सुरु, चुक्ता पूँजी ४० करोड नजिक

0
Shares

मिर्मिरे लघुवित्त वित्तिय संस्था र नागबेली लघुवित्त वित्तिय संस्था एक आपसमा गाभिएर बनेको मिर्मिरे लघुवित्त वित्तिय संस्थाले एकीकृत कारोवार सुरु गरेको छ ।

मिर्मिरे लघुवित्तले नागबेली लघुवित्तलाई प्राप्ति गरेर एकीकृत कारोबार सुरु गर्ने गरेको हो। मिर्मिरे लघुवित्तले नागबेलीलाई १०० बराबर ९५ शेयर स्वाप अनुपात हुनेगरी प्राप्ती गरेको हो। यसअनुसार नागबेलीको १०० कित्ता शेयर हुनेले मिर्मिरे लघुवित्तको ९५ कित्ता शेयर पाउनेछन्। । 

मिर्मिरेको चुक्ता पूँजी १९ करोड ५४ लाख ३४ हजार २८० रुपैयाँ र नागबेलीको चुक्ता पूँजी २१ करोड १२ लाख ७६ हजार १७० रुपैयाँ छ। शेयर स्वाप रेसियो अनुसार एकीकृत चुक्ता पूँजी जम्मा ३९ करोड ६१ लाख ४६ हजार पुगेको छ। यसअघि मिर्मिरेले स्वेडा लघुवित्तलाई प्राप्ति गरी एकीकृत कारोवार गरेको थियो ।

एकीकृत कारोबारपछि कायम हुने चुक्ता पूँजीको २ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव यसअघि सम्पन्न विशेष साधारण सभाबाट पारित गराएको थियो । तर, राष्ट्र बैंकले मौद्रिक नीति मार्फत लघुवित्त संस्थाहरुलाई हकप्रद निष्कासन गर्न नदिने नीति लिएको छ ।

नागबेली लघुवित्तका १० जिल्लामा हाल ३७ शाखाहरु छन् भने मिर्मिरेका ६४ शाखा छन्। नागबेलीसँगको एकीकृत कारोबार पश्चात शाखा संख्या जम्मा १०१ पुग्नेछ।

दुई लघुवित्तबीच २०७६ फागुन १३ गते गाभ्ने/गाभिने सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । राष्ट्र बैंकले साउन २५ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले भदौ ३ गते दुई संस्थाबीच एक आपसमा गाम्भे/गाभिने गरी एकीकृत कारोबारका लागि अन्तिम स्वीकृती दिएको थियो ।

गत असार २० गते दुवै संस्थाले विशेष साधारण सभाबाट एक आपसमा गाभ्ने गाभिने प्रस्तावलाई अनुमोदन गराएका थिए।

एकीकृत कारोबारपश्चात संस्थाको नाम मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड, केन्द्रीय कार्यालय बनेपा र प्रमुख कार्यकारी अधिकृतमा कुमार याक्सो रहेका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ भदौ २०७७, आइतबार  १३ : ५८ बजे