भन्सार छलेर कपडा बेच्ने ६ जना विरुद्ध ३ करोड राजस्व चुहावटको मुद्दा

0
Shares

राजश्ज अनुसन्धान विभागले राजस्व चुहावटको अभियोगमा ६ जना विरुद्ध ३ करोड बढी रकम विगो कायम गरी उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागले भारतीय ट्रकमा फल्स बटम (छुट्टै नदेखिने क्याविन कोठा) बनाई भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा रजनिश कुमार गुप्ता र राजु थापा भन्ने राजेन्द्र थापा समेत ६ जना विरुद्ध मुद्दा दायर गरेको हो ।

उनीहरु विरुद्ध ३ करोड १९ ल लाख ७७ हजार ३७२ रुपैयाँ विगो कायम गरी उक्त विगो असूल उपर गरी जरिवाना र कैद समेतको माग दावी लिई उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

भारतबाट भन्सार जाँचपासको लागि मालवस्तु लिई आउने ट्रकभित्र फल्स बटम (छुट्टै नदेखिने क्याविन कोठा) बनाई भारतीय कपडाहरु लुकाई छिपाई चोरी पैठारी गरि राजस्व चुहावट तथा छलि गरेकोले मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

विभागले मालवस्तु ढुवानीकर्ता नेपाल लजिष्टिकका संचालक राजेन्द्र प्रसाद गुप्ता र बरामद मालवस्तु भएको ट्रकका चालक सुनिल कुमारको हकमा बरामद मालवस्तुको मूल्य ५३ लाख ३९ हजार ५६२ विगो कायम गरेको छ ।

त्यस्तै बारा जिल्ला कलैया नगरपालिका वार्ड नं। ८ आदर्शटोल स्थायी ठेगाना भई काठमाण्डौमा कपडा पसल संचालन गरि उक्त कार्यको व्यवस्थापन गर्ने रंजित कुमार गुप्ता र पञ्चवटी अपार्टमेन्ट बिकासीपुरी दिल्ली भारत स्थायी ठेगाना भई हाल ललितपुर महानगरपालिकाको सनराईज टावर धोवीघाटमा बसोबास गरी सृजन शर्मालाई पनि मुद्दा दायर गरेको छ ।

शर्माको पशुपति ट्रान्सपोर्ट सोलुशन नामको फर्मबाट कारोवार गर्ने तथा रजनिश कुमार गुप्ता र राजु थापा भन्ने राजेन्द्र थापाले फल्स बटमभित्र लुकाई पठाएको मालवस्तुहरु व्यवस्थापन गर्न मुख्य भूमिका खेल्ने गरेको विभागको भनाई छ । निजहरुले यो भन्दा पहिला पटक पटक गरी ५ पटक चोरी पैठारी गरी नेपाल ल्याई बिक्री वितरण गरी सकेको विभागको भनाई छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।