लिबर्टी इनर्जीको आईपीओ आवेदन विवरण मेरो शेयरबाट किन हरायो ?

0
Shares

कोरोना संक्रमण जोखिम न्यूनिकरणका लागि गरिएको बन्दाबन्दीले सबै क्षेत्रलाई नकरात्मक असर पारिरहेको छ। कतै जनशक्ति व्यवस्थापनमा देखिएको समस्या त कतै प्रविधिमा हुन नसकेको व्यवस्थापनले शेयरको प्राथमिक बजार पनि प्रभावित भएको छ ।

यस्तै असर आइतबार साँझ शेयर निष्काशन बन्द भएको लिबर्टी इनर्जीको आईपीओमा पनि परेको छ । आइतबार साँझ शेयर निष्काशन बन्द भएपछि शेयर आवेदकले मेरो शेयर लगइन गरेर लिवर्टीको आवेदन विवरण हेर्न सकिरहेका छैनन् ।

बन्दाबन्दीका कारण बैंक वित्तीय संस्थामा परेका कागजी आवेदन प्रविष्ट गर्नका लागि बैंक वित्तीय संस्थालाई मात्र पहुँच दिँदा लगानीकर्ताको पहुँच केही समयका लागि बन्द गरिएको केन्द्रीय निक्षेप प्रणाली (सीडिएससी) ले जनाएको छ।

साविकमा शेयर आवेदन बन्द भएको भोलिपल्टसम्ममा सबै आवेदनहरु प्रविष्ट भईसक्ने गरेकोमा अहिले बैंकहरुमा सीमित जनशक्तिबाट कार्य सञ्चालन गर्नुपर्ने अवस्थामा भएकाले आस्वा सदस्य बैंकको पहुँचलाई निरन्तरता दिन लगानीकर्ताको पहुँच बन्द गरिएको सीडिएससीको भनाई छ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी) का प्रवक्ता सुरेश न्यौपानेले नोटबजारसँग भने, “बन्दाबन्दीका बीच निष्काशन भएको तीनवटा कम्पनीमा धेरै लगानीकर्ताले बैंक पुगेर आईपीओ शेयर आवेदन गरिरहेका छन् । अहिले बैंकहरुमा सीमित जनशक्तिबाट सेवा सञ्चालन भइरहेकाले आवेदन भेरिफाई गर्न पनि ढिलाई भईरहेको अवस्था छ। त्यसरी आउने आवेदन बैंकले अस्वीकृत गर्न नमिल्ने भएकाले त्यस्ता आवेदन सीआस्वामा प्रविष्ट गर्ने काम भईरहेको र काम सकिएपछि आवेदन प्रणालीलाई पूर्ण रुपमा बन्द गरेर लगानीकर्ताको फेरि पहुँच स्थापित गरिन्छ ।”

प्रवक्ता न्यौपानेका अनुसार बैंकहरुले पनि लगानीकर्ताको जस्तै मेरो शेयरको प्रणालीबाट आवेदन प्रविष्ट गर्ने हो। अहिले बैंकहरुमा सीमित जनशक्तिबाट सेवा सञ्चालन भइरहेकाले हिजोसम्म परेको सबै आवेदनलाई मेरो शेयरमा प्रविष्ट गराउनका सम्भव नभएकाले लगानीकर्ताको आवेदनलाई प्रणालीमा प्रविष्ट गर्नका लागि बैंकहरुलाई थप समयावधि दिइएको हो। सबैलाई पहुँच दिँदा मेरो शेयरबाट सोमबार पनि लिबर्टी इनर्जीको शेयरमा थप आवेदन नपरोस् भन्नका लागि लिबर्टीको विवरणलाई केही समयलाई डाउन गरिएको हो । उनले प्रष्ट पारे ।

उनका अनुसार लिबर्टी इनर्जीको शेयर आवेदनको विवरण लगानीकर्ताको पहुँचमा आइसक्दासम्म धेरै आवेदकको आवेदन भेरिफाई भइसकेको हुनेछ। केहीको भेरिफाई हुन नसके पनि उक्त आवेदन भेरिफाई हुने भएकाले शेयर आवेदन गरेको रकम भेरिफाई नहुन्जेल बैंक खातामा मौज्दात राख्न पनि न्यौपानेले शेयर आवेदकहरुलाई आग्रह गरेका छन् ।

उता नियामक निकाय धितोपत्र बोर्डले पनि एकैपटक तीनवटा कम्पनीको सार्वजनिक निष्काशन भएको सन्दर्भमा सिडिएससीको प्रणालीमा अत्याधिक चाप आई समयमा नै सबै सि आस्वा आवेदन प्रविष्ट हुन नसकेको परिस्थितिलाई मध्यनजर गरी एक दिनका लागि भदौ ३ देखि ७ गतेसम्म प्राप्त भैसकेको आवेदन प्रविष्ट गर्ने प्रयोजनका लागि समयावधि उपलब्ध गराउन अनुमति दिएको थियो।

बोर्डको अनुमति अनुसार सिडिएससीले बैंक तथा वित्तीय संस्थाहरुलाई मात्र पहुँच स्थापित गरी सर्वसाधारणबाट थप आवेदन गर्न नमिल्ने बनाउनका लागि सर्वसाधारणको पहुँचबाट लिवर्टी इनर्जीको विवरणलाई एक दिनका लागि हटाएको हो।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।