विभिन्न चार लघुवित्त संस्थाहरुलाई गाभेर विशाल बन्ने क्रममा रहेको एनआरएन लघुवित्त वित्तीय संस्थाको शेयर नेप्सेमा सूचीकृत भएको छ ।
साविकका किसान माइक्रोफाइनान्स, दिव्य लघुवित्त र एनआरएन लघुवित्तको मर्जर पश्चात कायम हुन आएको ३९ लाख २८ हजार ८८ कित्ता शेयर सूचीकृत भएको हो। योसँग मर्जर प्रक्रियामा सामेल भएको किसान माइक्रोफाइनान्स तर्फको शेयर दोस्रो बजारमा कारोबारका लागि फुकुवा समेत भएको नेप्सेले जनाएको छ ।
एनआरएन लघुवित्त वित्तीय संस्थाले किसान माइक्रोफाइनान्स र दिव्य लघुवित्त वित्तीय संस्था लिमिटेडलाई गाभेर गत असार २९ गतेदेखि एकिकृत कारोबार थालेको थियो।
एनआरएन लघुवित्तले यसअघि क्रिएटिभ र रामारोशन लघुवित्त वित्तीय संस्थालाई आफुमा गाभेको थियो।
एनआरएन, दिव्य, क्रिएटिभ र रामारोशनले आइपीओ जारी गरेका थिएनन् ।
नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत नरहेको एनआरएन लघुवित्तले स्थापनाको एक वर्षमा नै ४ वटा लघुवित्त संस्थाहरुसँग मर्जर सम्पन्न गरेको हो ।
एफपीओ निष्काशनको तयारी
एक वर्षमा ४ वटा लघुवित्त संस्थाहरुसँग मर्जर सम्पन्न गरेको संस्थाले सर्वसाधारणका लागि थप साधारण शेयर निष्काशन अर्थात एफपीओ गर्ने भएको छ ।
संस्थाले एफपीओ निष्काशनको प्रस्ताव राखेर आगामी भदौ २० गते धनगढीमा विशेष साधारण सभा आह्वान गरेको छ । उक्त साधारण सभाबाट कम्पनीले एफपीओ निष्काशनको प्रस्ताव पारित गर्नेछ । तर एफपीओको कित्ता भने खुलाइएको छैन ।
२०७५ सालमा स्थापना भएको धनगढी कैलालीमा केन्द्रीय कार्यालय रहेको यस एनआरएन लघुवित्त वित्तीय संस्थाले करिब डेढ वर्षको छोटो अवधीमै आफुसहित ५ ओटा लघुवित्त वित्तिय संस्थाहरू मर्ज गरेको छ ।
गत भाद्र २०७६ मा २ लघुवित्त रामारोशन लघुवित्त वित्तीय सस्था र क्रियटिभ लघुवित्त वित्तीय लघुवित्त संस्थालाई मर्जर गरेपश्चातको एनआरएनले किसान माइक्रोफाइनान्स र दिव्य लघुवित्त वित्तीय संस्था मर्जर गरेको हो ।
मर्जर पश्चात एनआरएन अबको मर्जर पश्चात अधिकृत पूँजी १ अर्ब, जारी पूँजी ५२ करोड ८८ लाख ४७ हजार र चुक्ता पूँजी ३९ करोड २८ लाखका साथ कारोबार नेपाल भर फैलिने छ र शाखा कार्यालयको संख्या १४२, कर्मचारी संख्या ५ सय, लगानी ४ अर्ब १० करोड, बचत ८७ करोड ६० लाख, सदस्य संख्या १ लाख ४४ हजार र ऋणी सदस्य संख्या ५० हजार ९९७ पुग्नेछ ।
हाल सम्म जम्मा ४३ जिल्लामा शाखा विस्तार गरिसकेको छ भने आगामी १ वर्ष भित्र बाँकी रहेका ३४ जिल्लामा शाखा विस्तार गरि ७७ वटै जिल्लामा कारोबार विस्तार गर्ने एफपीओ जारी गरी चुक्ता पूँजी एक अर्ब पुरयाउने संस्थाको योजना रहेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया