अर्थमन्त्रीको निरन्तरता र बर्हिगमनको हल्लाले शेयर बजारमा चलखेल

0
Shares

अर्थमन्त्री रहने र फेरिने चर्चा चुलिएको साताको शेयर बजार ५२ अंकले बढ्दा झण्डै १२ अर्ब रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । यो साता शेयर बजार चार दिन मात्र खुला रहेको थियो ।

डा. युवराज खतिवडा अर्थमन्त्री रहने कि नरहने चर्चा चलिरहदा यसको असर समेत शेयर बजारमा देखिएको छ । जसले गर्दा साताभरको बजारमा उतारचढाब देखा पर्यो । एक साताको अवधिमा नेप्से सूचक ५२.३८ अंकले बढेको छ ।

गत साताको विहीबार १४५८.०४ अंकमा रहेको नेप्से ५२.३८ अंकले बढेर १५१०.४२ विन्दुमा आइपुगेको छ । यो साताभर झण्डै १२ अर्ब बराबरको शेयर किनबेच भएको छ । आइतबार एक अर्ब ६१ करोड ४५ लाख बराबरको शेयर किनबेच भएको बजारमा सोमबार ३ अर्ब ४६ करोड २५ लाख बराबरको कारोबार भएको थियो ।

मंगलबार इन्द्रजात्राको अवसरमा उपत्याकामा विदा भएकाले शेयर बजार खुलेन । बुधबार ४ अर्ब १८ करोड १० लाख बराबरको शेयर किनबेच भएको बजारमा विहीबार २ अर्ब ६३ करोड ४८ लाख बराबरको शेयर कारोबार भयो ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशभरका अधिकांस जिल्लामा लकडाउन तथा निषेधाज्ञा जारी गरेको अवस्थामा छ । अर्थतन्त्रका अन्य क्षेत्र ठप्प भएको अवस्थामा शेयर बजारमा लगानीगर्नेहरु थपिएका छन् भने अनलाइन कारोबार प्रणालीमा आवद्ध हुने लगानीकर्ता थपिदै जाँदा शेयर कारोबारमा बढोत्तरी आएको छ ।

यसैबीचमा अर्थमन्त्रीको बिषयलाई लिएर पनि बजारमा चलखेल गर्ने कोशिसहरु भएको बजारका जानकारहरु बताउँछन् । वित्तीय क्षेत्रमा प्रशस्त तरलता रहेको र ब्याजदर समेत घटेपछि शेयरमा आर्कषण बढेको देखिन्छ ।

नयाँ अर्थमन्त्री को हुने भन्ने विषयले बजारमा निकै चर्चा पाइरहेको छ । खतिवडा नै दोहोरिने वा अन्य कोही बन्छ भन्नेमा अहिलेसम्म कुनै निर्णय भएको छैन । आज बस्ने नेकपा सचिवालय बैठकले सम्भवतः यसबारेमा टुंगो लगाउने अनुमान छ ।

अन्तिम कारोबार दिन करेक्सन

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ०.१५ अंक घटेर १५१०.४२ विन्दुमा बन्द भएको छ। अल्पकालिन लगानीकर्ताहरु नाफा सुरक्षित गर्नतर्फ लागेका कारण बजारमा करेक्सन भएको हो।

यस दिन १८६ कम्पनीको ३९ हजार २०५ पटकको कारोबारमा २ अर्ब ६३ करोड ४८ लाख रुपैयाँ बराबरको ९३ लाख २ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन उन्नती सहकार्य, अरुण काबेली, एनआरएन इन्फ्रास्टक्चर र जोशी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो। पाँचथर पावरको शेयरमूल्य सबैभन्दा बढी ६.९९ प्रतिशत घटेको छ। यस दिन कारोबारमा आएका १२ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ५ उपसमूहको परिसूचक घटेको छ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।