मारुती सिमेन्ट उद्योगविरुद्ध प्रदर्शन

मारुती सिमेन्ट उद्योगविरुद्ध प्रदर्शन

सामुदायिक वन क्षेत्रको जग्गा अतिक्रमणसँगै वातावरण प्रदूषण बढेको भन्दै स्थानीयबासीले आज सिरहाको गोलबजार नगरपालिकास्थित मारुती सिमेन्ट उद्योगको मूल ढोका अगाडि प्रदर्शन गरेका छन् ।

मारुती सिमेन्ट उद्योगको प्रदूषण विरुद्ध गठित सङ्घर्ष समितिको अगुवाइमा स्थानीयवासीले सो उद्योग विरुद्ध प्रदर्शन गरेका हुन् ।

‘सार्वजनिक जग्गा फिर्ता गर, धुवाँधुलो बन्द गर, रोजगारीमा स्थानीयलाई प्राथमिकता दे’ लगायतका नारा लेखिएका प्लेकार्डसहित सयौँको सङ्ख्यामा ओर्लिएका प्रदर्शनकारीले उद्योगविरुद्ध चर्को नाराबाजी गरेका छन् ।

ती उद्योगले गोलबजार नगरपालिका र नरहा गाउँपालिकामा पर्ने झण्डै साढे चार बिघा वनको सार्वजनिक जग्गा अतिक्रमण गरेको स्थानीयवासीको आरोप छ ।

जग्गा अतिक्रमण मात्रै नभई सिमेन्ट उद्योगबाट निस्कने प्रदूषित धुवाँले आसपासका बस्ती पनि जोखिममा परेको स्थानीयवासी चिरञ्जीवी यादवले बताए । उद्योग परिसरस्थित शारदा डिष्टिलरीले घुर्मी खोलाबाट बगाउँदै आएको विषादीयुक्त पानीले पनि यहाँका सर्वसाधारणको स्वास्थ्यमा विभिन्न किसिमको समस्या देखिनुका साथै अन्नबालीमा पनि गम्भीर क्षति हुँदै आएको स्थानीयवासीको भनाइ छ ।

मारुती सिमेन्ट र शारदा डिष्टिलरीको मनोमानीका कारण गोलबजार नगरपालिका, मिर्चैया नगरपालिका र नरहा गाउँपालिका सहित घुर्मी नदीको छेउमा रहेका दर्जनौँ गाउँका लाखौं जनता प्रत्यक्षरुपमा प्रभावित छन् ।

यहाँका स्थानीयवासीले जग्गा अतिक्रमण तथा प्रदूषण रोक्न निरन्तररुपमा आवाज उठाउँदै आएका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ भदौ २०७७, सोमबार १७ : ५१ बजे