भदौ ३ देखि सर्वसाधारणमा निष्काशन भएको लिवर्टी इनर्जीको शेयर यसै साता शेयरधनीको हितग्राही (डिम्याट) खातामा आएको छ । कम्पनीले बुधबार नै शेयरधनीको खातामा उक्त शेयर पठाएको छ ।
लिवर्टीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार नेपाल स्टक एक्सचेञ्जमा सम्झौताका लागि सबै प्रकृया पूरा भइसकेकोले शुक्रबार सम्झौतापछि आइतबारदेखि शेयर कारोबार खुलाउने तयारी गरिएको छ ।
कम्पनीको शेयर कारोबारको लागि एलइसी (LEC) कारोबार संकेत प्रदान गरिएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सोही संकेतमा शेयरधनीको डिम्याट खातामा शेयर जम्मा गरेको हो ।
लिवर्टीको साधारण शेयर एनआईबिएल एस क्यापिटलले निष्काशन गरेको थियो । निष्काशन तथा बाँडफाँडको सबै काम सकिएपछि भदौ २१ गते कम्पनीले प्रभु क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गर्दै सूचीकरणको प्रकृया अघि बढाएको थियो ।
कम्पनीको आइपीओ आवेदन दिने सबै लगानीकर्ताले शेयर पाएका थिए। जसमा १० देखि ३० कित्तासम्मका लागि आवेदन दिएकाले माग अनुसार नै र ३० कित्ताभन्दा माथि आवेदन दिने २५ हजार ६२० जनाले ४० कित्ता पाएका थिए ।
उता सोही समयमा शेयर निष्काशन गरेको समाज लघुवित्तले पनि शुक्रबार नै शेयर सूचीकरण गराएर आइतबारदेखि कारोबार खुला गराउने तयारीमा लागेको शेयर रजिष्ट्रार बिओके क्यापिटलले जानकारी दिएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया