धितोपत्र व्यवसायीको सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी काम कारवाहीलाई थप व्यवस्थित गर्दै बोर्ड

0
Shares

नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायीको सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी काम कारवाहीलाई थप नियमित तथा व्यवस्थित गर्नका लागी सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा धितोपत्र व्यवसायीको जोखिममा आधारित सुपरिवेक्षण म्यानुअल, २०७७ यहि असोज १५ गतेदेखि लागू गर्ने निर्णय गरेको छ ।

अपराधजन्य कार्यबाट आर्जित आयलाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्ने सम्बन्धमा “सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४”, “सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण नियमावली, २०७३” तथा नेपाल धितोपत्र वोर्डबाट जारी भएको “सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन, २०७६” मा भएको कानूनी व्यवस्थालाई अझ प्रभावकारी रुपमा कार्यान्वयन गर्न म्यानुअल लागू गरिएको बोर्डले प्रष्ट पारेको छ । 

सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अन्तर्राष्ट्रिय अभ्यास अनुरुप फाइनान्सियल एक्सन टाक्स फोर्स तथा एशिया प्रशान्त समूह (एपिजी) को मापदण्डहरुलाई समेत आधार मानी म्यानुअल तयार गरिएको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए ।

धितोपत्र व्यवसायीहरुको जोखिममा आधारित रहेको म्यानुअलमा धितोपत्र व्यवसायीको संरचनागत तथा अन्तर्निहित जोखिम तथा जोखिम व्यवस्थापनलाई रेटिङ्ग स्केल १ देखि ५ को बीचमा गर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै धितोपत्र व्यवसायीको स्थलगत तथा गैर स्थलगत सुपरीवेक्षण गरिने, धितोपत्र व्यवसायीहरुहरुबाट संकलन गरिने परिमाणात्मक तथा गुणात्मक तथ्यांक तथा विवरणहरुबाट धितोपत्र व्यवसायीको गैर स्थलगत जोखिम मूल्यांकन गर्ने व्यवस्था गरिएको छ । साथै धितोपत्र व्यवसायीको गैर स्थलगत जोखिम मूल्यांकनबाट स्थलगत सुपरीवेक्षणको अवधी, क्षेत्र तथा मात्रा निर्धारण गर्ने व्यवस्था गरिएकोे बोर्डको भनाई छ ।

धितोपत्र व्यवसायीहरुको जोखिम मूल्यांकन गर्दा धितोपत्र व्यवसायीले प्रदान गर्ने वस्तु तथा सेवा, ग्राहक सम्बन्धी जोखिम, भौगोलिक क्षेत्र सम्बन्धी जोखिम, उच्च पदस्थ व्यक्ति सम्बन्धी जोखिम, वितरण माध्यम सम्बन्धी जोखिम, धितोपत्र व्यवसायीको संरचनगत जोखिम तथा धितोपत्र व्यवसायीको जोखिम व्यवस्थापन सम्बन्धी व्यवस्था यसमा गरिएको छ ।

सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा धितोपत्र व्यवसायीको जोखिममा आधारित सुपरिवेक्षण म्यानुअल, २०७७ लागू भए पश्चात वोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायीहरुको सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा हुने वित्तीय लगानी निवारण सम्बन्धी प्रचलित कानूनमा भएको व्यवस्थालाई अझ प्रभावकारी रुपमा अनुगमन एवं निरीक्षण गर्न तथा व्यवसायीहरुको सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कामकारवाहीहरु थप नियमित तथा व्यवस्थित भई लगानीमैत्री तथा पारदर्शी धितोपत्र बजारको विकासमा टेवा पुग्ने बोर्डको अपेक्षा रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।