माछापुच्छ्रे बैंकले डाक्यो साधारण सभा, लाभांश अनुमोदन र मर्जर प्रमुख एजेण्डा

0
Shares

माछापुच्छ्रे बैंक (MBL) ले गत आर्थिक वर्षबाट प्रस्तावित १०.४० प्रतिशत लाभांश अनुमोदन र मर्जर तथा प्राप्तीका लागि प्रकृया अगाडि बढाउने जिम्मेवारी सञ्चालक समितिलाई सुम्पने प्रमुख एजेण्डा सहित कात्तिक ६ गते गत आवको वार्षिक साधारण सभा आह्वान गरेको छ ।

बैंकले कात्तिक ६ गते बिहीबार होटल पोखरा ग्राण्ड, पार्दि, पोखरामा बिहान ११ बजे बाइसौँ साधारण सभा बोलाएको हो । जुम भिडियो कन्फ्रेन्स मार्फत सभा आयोजना गरिने हुँदा साधारण सभामा मन्तब्य राख्न चाहने शेयरधनीले बैंकले उपलब्ध गराएको इमेल ठेगाना तथा फोन नम्बरमा सम्पर्क गरी मिटिङ्ग आईडि र पासकोड लिनुपर्ने जनाइएको छ ।

सभाले सञ्चालक समितिबाट प्रस्तावित ७.०३ प्रतिशत बोनस (५९ करोड ४६ लाख १६ हजार ९३१ रुपैयाँ) शेयर र ३.७३ प्रतिशत (२८ करोड ५० लाख ६४ हजार ७४४ रुपैयाँ ) नगद लाभांश (बोनस शेयर र नगद लाभांंशमा लाग्ने कर सहित) अनुमोदन गर्ने विशेष प्स्ताव रहेको छ ।

यसैगरी माछापुच्छ्रे बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्न/गाभिन (मर्जर अथवा एक्विजिसन गर्न) तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त बैंक देखिएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने अर्को मुख्य एजेण्डा रहेको छ ।

यसका लागि सभाले बैंकको सम्पत्ति तथा दायित्व मूल्याङ्कन गर्न मूल्याङ्कनकर्ता नियुक्त गर्ने, गान्भे/गाभिने सम्झौता गर्ने, तथा अन्य आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने र नियामक निकायबाट बैंकको प्रबन्धपत्र तथा नियमावलीमा कुनै संसोधन तथा परिमार्जन गर्न निर्देशन प्राप्त भएमा सो अनुसार आवश्यक परिमार्जन थप/घट तथा परिमार्जन गर्न अख्तियारी प्रदान गर्नेछ ।

यसैगरी सभामा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ । सभाले आव २०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब लगायतको वित्तीय विवरण र आव २०७७/७८ का लागि लेखापरिक्षक नियुक्ती तथा पारिश्रमिक निर्धारण लगायतका प्रस्तावहरु अनुमोदन गर्ने प्रस्ताव रहेको छ ।

बैंकले लाभांश तथा साधारण सभा प्रयोजनार्थ असोज २२ गते बिहीबर शेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ । यस अनुसार असोज २१ गते बुधबारसम्म नेप्सेमा शेयर खरीद गरी शेयर रजिष्ट्रारको दर्ता किताबमा कायम रहने शेयरधनीहरुले मात्र सभामा सहभागिता जनाउनुका साथै लाभांश प्राप्त गर्न सक्नेछन्।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।