एनआरएन लघुवित्तले मर्जर अनुमोदन सहित एफपीओ जारी गर्ने प्रस्ताव पारित गर्दै

0
Shares

साविकका किसान माइक्रोफाइनान्स र दिव्य लघुवित्तसँगको मजर्र अनुमोदन गर्ने विशेष प्रस्ताव सहित एनआरएन लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणमा थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्ने प्रस्ताव अनुमोदन गर्ने भएको छ ।

लघुवित्तले (असोज १८ गते, आइतबार) होटल दिनेश, धनगढीमा आज बिहान ११ बजे विशेष साधारण सभा आह्वान गरेको साधारण सभाले उक्त प्रस्ताव सहित अन्य विभिन्न प्रस्तावहरु उपर छलफल गरी पारित गर्ने एजेण्डा छ ।

लघुवित्तले यसअघि नै विशेष आह्वान गरेको भएपनि कोरोनाका कारण स्थगित भएपछि पुनः आह्वान गरेको हो ।

आजको विशेष साधारण सभाबाट कम्पनीले जारी गर्ने एफपीओको संख्या निर्धारण गर्नेछ । यसअघि सम्पन्न कम्पनीको साधारण सभाले एफपीओ जारी गर्ने निर्णय गरेपनि कति र कुन अनुपातमा जारी गर्ने सम्बन्धमा कुनै निर्णय गरेको थिएन ।

यसका साथै सभामा लघुवित्तको नाम परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, कर्पोरेट कार्यालय बुढानिलकण्ठ नगरपालिका ९, काठमाडौँमा स्थापना गर्ने एजेण्डा राखेको छ । त्यस्तै सञ्चालक समितिमा संस्थापक समूहको तर्फबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने एजेण्डा पनि साधारण सभामा रहेको छ ।

एनआरएन लघुवित्त वित्तीय संस्थाले किसान माइक्रोफाइनान्स र दिव्य लघुवित्त वित्तीय संस्था लिमिटेडलाई गाभेर गत असार २९ गतेदेखि एकीकृत कारोबार थालेको थियो। एनआरएन लघुवित्तले यसअघि नै क्रियटिभ र रामारोशन लघुवित्त वित्तीय संस्थालाई आफुमा गाभिसकेको छ ।

लघुवित्त संस्थाको ५२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । एक लाख सदस्य रहेको संस्थाले १३० भन्दा बढी शाखा सहित सात वटै प्रदेशमा उपस्थिती जनाउन सफल छ। संस्थाले १ अर्ब पूँजी सहितको राष्ट्रियस्तरको लघुवित्तका रूपमा स्थापित हुने लक्ष्य लिएको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।