सात महिनापछि शेयर बजार १६ सय अंक माथि उक्लियो, बजारमा हरियाली

0
Shares

शेयर बजारमा हरियाली छाउँदा सात महिनापछि नेप्से सूचक १६ सय अंकमाथि उक्लिएको छ । बुधबार साढे १४ अंकले बजार बढेपछि नेप्से सूचक १६००.९७ विन्दुमा उक्लिएको छ ।

कारोबारमा आएका अधिकांस समूहमा सुधार आएपछि बजार बढेको हो । यसदिन कारोबारमा आएका उत्पादन र लघुवित्त बाहेक सबै समूहका सूचक उकालो लागेका छन । विशेषगरी जलविद्युत कम्पनीहरुको शेयरमूल्य उच्चदरले बढेको छ ।

बुधबारको बजारमा १९५ कम्पनीको एक करोड २६ लाख ९९ हजार ५३५ कित्ता शेयर ३ अर्ब ३५ करोड बराबरमा किनबेच भएका छन् । सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्षको लाभांश घोषणा गर्ने क्रम सुरु भएपछि शेयर बजारमा लगानीकर्ताको आकर्षण थपिएको छ।

बैंकहरुले शेयर कर्जाका लागि आकर्षक योजनाहरु ल्याएकाले पनि कर्जा लिएर लगानीगर्नेहरु बढ्दा कारोबार रकममा सुधार आएको छ । निरन्तर कारोबार रकममा सुधार आएकाले पनि बजार नघट्ने विस्वास लगानीकर्तामा देखिएको छ ।

नियामक निकायहरुले पनि बजार सुधारका कार्यक्रमहरु सार्वजनिक गरेकाले पनि लगानीकर्तामा सकारात्मक प्रभाव परेको देखिन्छ । धितोपत्र बोर्डले विश्व लगानी सप्ताहका अवसरमा बजार सुधारका केही कार्यक्रमहरु सार्वजनिक गरेको छ । साथै अर्थमन्त्रीको नाममा शेयर बजारमा चलखेल गर्नेहरुका लागि पनि राम्रो अवसर बजारले दिएको छ ।

पछिल्लो ६ महिनमा आधादर्जन कम्पनीको आइपीओ पारेका लगानीकर्ताहरु पनि विस्तारै दोस्रो बजारमा प्रवेश गर्न थालेका छन । आधादर्जन कम्पनीको आइपीओले नयाँ लगानीकर्ता बजारमा भित्र्याएको छ । जसले गर्दा अनलाइन कारोबार प्रणाली लिनेहरु दैनिक रुपमा बढ्दै गएका छन् । त्यस्तै अनलाइन कारोबार प्रणालीमा मार्फत घरघरमै बसेर शेयर किनबेच गर्न सकिने हुँदा पनि शेयर बजारमा नयाँ लगानीकर्ताहरु प्रवेश गरेका छन् ।

कोरोना कहरका कारण यसवर्ष चाडपर्वको खर्च बचतमा समेत लगानीकर्ता देखिन्छन । उनीहरुले चाडपर्वको लागि छुट्याएको बजेट समेत शेयरमै लगानीगर्न थालेको आँकलन गरिएको छ । लगानीका अन्य क्षेत्रहरु संकुचीत भएकाले अहिले यसको सबैभन्दा सकारात्मक प्रभाव शेयर बजारमै देखिएको छ । तर, कम्पनीहरुको आधारभूत र प्राविधिक अध्ययन विना शेयरमूल्य मात्र हेरेर कारोबार गर्नेहरु बजारमा फस्ने खतरा पनि उतिकै रहेको छ । नयाँ लगानीकर्ताको प्रवेशले बजारमा उत्साह जगाए पनि लगानीको जोखिमबाट बच्न भने सचेत हुनुपर्ने देखिन्छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।