दशैंको मुखमा राजश्व छल्नेमाथि आक्रमक बन्दै अनुसन्धान विभाग, साढे २ अर्ब राजश्व छल्नेविरुद्ध मुद्दा

0
Shares

नेपालीहरुको महान चाड दशैंको मौका छोपेर राजश्व छली गर्नेहरुमाथि राजश्व विभाग आक्रमक रुपमा उत्रन थालेको छ । विभाग दिनहुँजसो अबौं अर्बको राजश्व छली गर्नेविरुद्ध मुद्दा अगाडि बढाउन थालेको छ ।

आइतबार मात्रै १ अर्ब ८१ करोडको विगोदाबी माग गर्दै आइटेक इन्टरनेशनल प्रालीका विरुद्ध मुद्दा दर्ता गराएको विभागले सोमबार पनि अर्को व्यवसायीक फर्म विरुद्ध करिब साढे २ अर्बको मुद्दा दायर गरेको हो ।

विभागले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं. १२ स्थित सोनी ज्वेलर्स स्थाई लेखा नम्बर ३०४७१०५४२० को प्रोपराइटर तथा सोनी गोल्ड एण्ड सिल्भर प्रालि स्थाई लेखा नम्बर ६०४३८७१८१० को मुख्य सञ्चालक सुनिल सुनारको नाममा नेपाली नागरिकताको प्रमाणपत्र समेत लिएका भारतीय नागरिक सुनिल सोनी (सुनिल सुनार) र रुपन्देही जिल्ला, सिद्धार्थ नगर नगरपालिका वडा नं. ६ वस्ने मतियार अमित परियार बाट सुन चाँदीको भन्सार चोरी पैठारी तथा निकासी गरी राजस्व चुहावट गरेको कसुरमा २ अर्ब ३९ करोड ५५ लाख १५ हजार रुपैयाँ विगो असुल गरी जरिवाना र कैद मागदाबी लिई सोमबार उच्च अदालत तुल्सीपुर, बुटवलमा मुद्दा दर्ता गरेको छ ।

सोनी ज्वेलर्सका प्रोपराइटर तथा सोनी गोल्ड एण्ड सिल्भर प्रालिका मुख्य संचालक भारतीय नागरिक सुनिल सुनार भनिने सुनिल सोनीले सुन चाँदीको अवैध आयात निर्यात तथा विक्री कारोबार गर्ने गरेको तथा मोबाइलको माध्यमबाट विभिन्न व्यक्तिहरुसग कारोबार गर्ने गरेको, कारोबार स्थलबाट बरामद गरिएका बैक दाखिला भौचर बैक स्टेटमेन्ट र मोबाइलबाट प्राप्त बैक भौचरका आधारमा विभिन्न व्यक्तिलाई रकम भुक्तानी दिएको लगायतका प्रमाणबाट निजले बैक तथा भन्सार विन्दु बाहेक अन्य बाटोबाट सुन चाँदी चोरी पैठारी गरी अवैध रुपमा विक्री गर्ने, सोबाट प्राप्त रकमलाई नेपाली तथा विदेशी मुद्रामा परिणत गरी विभिन्न व्यक्तिहरुलाई भुक्तानी लिने र दिने गरेकोले अवैध सुन चाँदीको चोरी पैठारी निकासी गरी कारोवार गरेको पुष्टी हुन आएको विभागले जनाएको छ ।

उनीहरुले भन्सार चोरी निकासी पैठारी तर्फ २ अर्ब २३ करोड १३ लाख ३८ हजार र आयकर तर्फ १६ करोड ४१ लाख ७७ हजार रुपैयाँ राजस्व चुहावट गरेकोले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, बमोजिम जरिवाना तथा कैद सजाय हुन मागदावी लिई मिति सोमबार गते उच्च अदालत तुल्सीपुर, बुटवल इजलासमा मुद्दा दर्ता गरिएको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।