टिएमएसमा निहित जोखिम व्यवस्थापनका लागि छुट्टै संरचना र नीतिबाट कारोबारलाई व्यवस्थित बनाइने

0
Shares

नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष भीष्मराज ढुंगानाले ट्रेड म्यानेजमेनज सिस्टम (टिएमएस) र यसमा निहित जोखिम व्यवस्थापनका लागि छुट्टै संरचना र नीति ल्याई धितोपत्रको दोस्रो बजार कारोबारलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका छन् ।

स्टक ब्रोकर एशोसियशन अफ नेपालका नवनियुक्त पदाधिकारीहरुको प्रतिनिधि मण्डलसँग आइतबार भएको भेटमा टिएमएसलाई थप प्रभावकारी बनाई बैंक इन्टिग्रशनको कार्य चाँडै सम्पन्न गरी यसलाई लगानीकर्ताहरुले आफ्नो चाहना अनुरुपका धितोपत्र बजारका विभिन्न उपकरणमा लगानी गर्न सकिने गरी अन्तर्राष्ट्रिय स्तरको लगानीकर्तामैत्री बजार बनाउनुपर्ने बताए ।

अध्यक्ष ढुंगानाले धितोपत्र बजारको प्रतिष्ठा बढाउनुपर्ने र सोका लागि एशोसियशनले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताए ।

यसैगरी प्रतिनिधिमण्डलसँगको भेटमा ढुंगानाले ब्रोकर कमिशन घटाउने सम्बन्धमा अध्ययन भइसकेकोमा सरोकारवाला पक्षसँग छलफल गरी अन्तिम रुप दिने कार्य आगामी दिनमा सम्पन्न गर्नुपर्ने बताउँदै तयार रहन निर्देशन दिएका छन् ।

उनले मार्जिन कारोबारलाई विस्तार गरी धितोपत्रको तरलता प्रदान गर्ने औजारको रुपमा विकास गर्ने, ऋणपत्रको दोस्रो बजार विस्तार गर्ने, ब्रोकरको शाखा कार्यालय मार्फत् दोस्रो बजारको पहुँच विस्तार गर्ने, आधिकारिक प्रतिनिधिका लागि पाठ्यक्रम विकास गरी ऐन अनुसार सो व्यवस्था प्रचलनमा ल्याउन कार्यविधि बनाउने समेत बताए ।

बोर्डको कार्यालय जावलाखेलमामा भएको उक्त भेटमा स्टक ब्रोकर एशोसियशन अफ नेपालका नवनियुक्त अध्यक्ष सन्तोष मैनालीले कोभिड–१९ का कारण धितोपत्रको दोस्रो बजारमा अवसर र चुनौती दुवै आएको उल्लेख गर्दै यसबीचमा अनलाइन मार्फत् कारोबार गर्ने लगानीकर्ताको संख्यामा उल्लेख वृद्धि भई दोस्रो बजारको दायरा बढिरहेकोमा जोखिम व्यवस्थापन गर्दै लगानीकर्तालाई नयाँ उपकरण मार्फत् लगानीको थप अवसर प्रदान गरी बजार विस्तार गर्ने चुनौती कायमै रहेको बताए ।

एशोसियशनका नवनियुक्त उपाध्यक्ष धर्मराज सापकोटा लगायत अन्य पदाधिकारीहरुले धितोपत्रको दोस्रो बजार सेवालाई थप संस्थागत बनाउँदै लैजान आवश्यक रहेकोले त्यसमा एशोसियशनले विशेष भूमिका खेल्ने बताए। उनले नियमन निकायको रुपमा बोर्डले दिने निर्देशनको अक्षरश पालना गर्दै जाने र बजार विकासका लागि बोर्डबाट अभिभावकको भूमिका अपेच्छा गरेको बताए ।

प्रतिनिधिमण्डलसँगको भेटमा बोर्ड अध्यक्ष भिष्मराज ढुंगानाले एशोसियशनका नवनियुक्त पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

स्टक ब्रोकर एशोसियशन अफ नेपालका नवनियुक्त अध्यक्ष सन्तोष मैनालीले नेतृत्व गरेका प्रतिनिधिमण्डलमा एशोसियशनका निवर्तमान अध्यक्ष भरत रानाभाटको समेत उपस्थिति रहेको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।