स्वीट्जरल्याण्ड सरकारको एक अर्ब २६ करोड सहयोग


स्वीजरल्याण्ड सरकारले नेपाल सरकारलाइ एक अर्ब २६ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । स्वीस सरकारले एमएलआरबीपी फेज ४ अन्तरगत सो सहयोग गर्ने सम्झौता शुक्रबार गरेको हो ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ भोन क्यापेलरबीच आज अर्थ मन्त्रालयमा शिष्टाचार भेटघाट पछि भएको सो सहयोग सम्झौतामा अर्थ मन्त्रालयको तर्फबाट सहसचिव श्रीकृष्ण नेपाल र स्वीट्जरल्याण्ड सरकारकातर्फबाट राजदूत एलिजावेथ भोन क्यापेलरले हस्ताक्षर गरेकान हुन ।

शिष्टाचार भेटमा अर्थमन्त्री पौडेलले नेपाल र स्वीट्जरल्याण्डबीच सधै सुखद् र असल सम्बन्ध कायम रही रहेको र असल सम्बन्धलाई आपसी विश्वास र सहकार्यको मध्यमबाट अझ गहिरो बनाउने आफ्नो प्राथमिकता रहेको विचार व्यक्त गरे ।

अर्थमन्त्री पौडेलले कोभिडले सिर्जना गरेको चुनौती सामना गर्न विश्वव्यापी सहकार्य र एकता आवश्यक हुनुको साथै दोश्रो लहरको प्रभाव रोक्न युरोपियन मुलुकहरुले चालेका कदमहरुको प्रशंसा गर्दै स्वीस सरकारले नेपालको विकास प्रयासमा गरेको निरन्तर सहयोगको लागि धन्यवाद समेत दिए ।

राजदूत एलिजावेथ भोन क्यापेलरले नवनियुक्त अर्थमन्त्रीलाई बधाई दिदै देशको स्थायित्व र विकासका लागि अर्थमन्त्रीको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै विगत १० वर्षमा नेपालमा धेरै परिवर्तन संस्थागत भएको विषय औल्याइन । साथै प्रधानमन्त्रीले सार्नु भएको दूरदृष्टि तथा वर्तमान सरकारको प्राथमिकता अनुरुपका विकास क्रियाकलापहरुमा स्वीस सरकारको सहयोग एवं साथ रहने उल्लेख गरिन ।

उनले संघीयता कार्यान्वयनमा नेपालले प्राप्त गरेको सफलताको प्रशंसा गर्दै संघ, प्रदेश र स्थानीय तहसम्म विकास सहायता परिचालन गर्ने कार्यविधिहरुको निर्माण गरी स्पष्टता ल्याएकोमा खुशी व्यक्त गरिन । कोभिड १९ को महामारी नियन्त्रणमा स्वीस सरकारले सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्बता समेत व्यक्त गरिन । .