माउन्टेन इनर्जीको आईपीओमा ७.६१ गुणा धेरै शेयर माग

0
Shares

माउन्टेन इनर्जीले कार्तिक २६ देखि मंसिर ३ गतेसम्म बिक्रीमा ल्याएको प्राथमिक शेयर (आईपीओ) मा सर्वसाधारणबाट माग भएको तुलनामा ७.६१ गुणा धेरैको माग परेको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गका अनुसार अन्तिम दिन बिहीबारसम्ममा १ अर्ब ३९ करोड ४४ लाख ४१ हजार रुपैयाँ बराबरको १ करोड ३९ लाख ४४ हजार ४१० कित्ता शेयर माग भएको हो ।

जुन सर्वसाधारणबाट माग गरिएको १८ लाख ३० हजार २६५ कित्ताको ७.६१ गुणा धेरै हो । आईपीओामा ६ लाख ७४ हजार ४१६ जना आवेदकले आवेदन दिएका छन् ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार यस आईपीओमा १ लाख ८३ हजार २६ जना आवेदकले मात्र गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाउनेछन् । जुन कूल आवेदक जनाको २८ प्रतिशत मात्र हो । बाँकी ७२ प्रतिशत आवेदकको हात खाली हुनेछ ।

कम्पनीले जारी पूँजीको २० प्रतिशत (३९ करोड ३६ लाख ५ हजार ४०० रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता) आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

सो मध्ये जारी पूँजीको १० प्रतिशत (१९ लाख ६८ हजार २७ कित्ता) पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयहरुलाई जारी गरेकोमा सोही बराबरको शेयर दोस्रो चरणमा सर्वसाधारणका लागि बिक्रीमा ल्याएको थियो । सर्वसाधारणमा निष्काशनमा ल्याइएको शेयरमध्ये सामूहिक लगानी कोषहरुका लागि ९८ हजार ४०१ कित्ता र ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई बाँडफाँड गरी १८ लाख ३० हजार २६५ कित्ता साधारण शेयर सर्वसाधारणमा बिक्री खुल्ला गरिएको हो ।

कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी ग्रेड ४ प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय अवस्था औषत भन्दा कमजोर रहेको जनाउँछ।

नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र सीबीआईएल क्यापिटलले शेयर निष्काशन तथा बिक्री प्रबन्धक भएर शेयर जारी गरेका हुन् ।

कम्पनीले म्याग्दीको नीलगिरी खोलामा ३८ मेगावाटको क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीको विवरणपत्रमा अनुसार आर्थिक वर्ष २०७८–७९ मा प्रतिशेयर आम्दानी ३६.८० रुपैयाँ र प्रतिशेयर नेटवर्थ १६५ .२८रुपैयाँ पुग्ने प्रक्षेपण कम्पनीको छ । आयोजनामा चन्दप्रसाद ढकाल, मीनबहादुर गुरुङ, प्रमोदकुमार खेतान, प्रदिपजंग पाण्डे लगायतको प्रमुख लगानी छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।