पुनर्बीमाको कर्नरिङ्गको शेयर बिक्रीमा आउँदा एकैदिन एक अर्ब बढीको कारोबार हुँदै रेकर्ड

0
Shares

पुनर्बीमा कम्पनीको कर्नरिङ्गको शेयर साताकोे अन्तिम दिन कारोबारमा आएको छ । जसकोे कारण आज एकैदिन एउटै कम्पनीको १ अर्ब ११ करोड रुपैयाँको शेयर कारोबार हुँदै रेकर्ड कायम भएको हो ।

यसभन्दा अघि एकैदिन एउटै कम्पनीको १ अर्ब बढीको शेयर कारोबार भएको थिएन । यसअघि गत साता एकैदिन ६५ करोड रुपैयाँ बराबरको शेयर कारोबार पनि यहि कम्पनीले रेकर्ड कायम गरेकोमा उक्त रेकर्ड समेत बिहीबार तोडिएको हो । बिहीबार पुनर्बीमाको ६ लाख ३५ हजार ८४५ कित्ता शेयर खरीद बिक्री भएको छ ।

बिहीबार १७९० रुपैयाँबाट कारोबार सुरु भएको पुनर्बीमा कम्पनीको शेयर अधिकतम १८३६ रुपैयाँसम्ममा कारोबार भई १६८६ रुपैयाँसम्म झरेकोमा पुन फर्किएर १७३५ रुपैयाँमा कारोबार बन्द भएको छ ।

संस्थागत लगानीकर्ता (बैंक तथा वित्तीय संस्था र म्युचुअल फण्ड) हरुले हकप्रद र लाभांशको प्रचार गर्दै ९०० रुपैयाँदेखि शेयर कर्निरिङ्ग हुन थालेको कम्पनीको प्रतिकित्ता ९३६ रुपैयाँ बढेर आज कारोबारको सुरुवाती समयमा १८३६ रुपैयाँसम्म शेयर कारोबार भएको थियो ।

विभिन्न सञ्चार माध्यममा कम्पनीले तत्काल हकप्रद जारी नगर्ने समाचार बाहिरिएपछि कम्पनीको शेयरमूल्यमा आइरहेको लगातारको ७ दिनको वृद्धिको क्रम रोकिएको छ । हकप्रदको लोभमा शेयर खरीद गरेका सर्वसाधारण लगानीकर्ताहरुले पनि तत्काल हकप्रदको सम्भावना नरहेपछि शेयर बिक्री गरेर बाहिरिएका छन् । जसले अघिल्ला दिनहरुमा न्यून बिक्रीचाप आएको कम्पनीको शेयरमा आज उच्च बिक्रीचाप र न्यून खरीद चाप देखा परेको थियो ।

दिनभर भएको कुल कारोबार रकम ८ अर्ब २ करोड ६० करोडमध्ये पुनर्बीमा कम्पनीको मात्रै १ अर्ब ११ करोड ४० लाख रुपैयाँ अर्थात १३.८८ प्रतिशत कारोबार हिस्सा रहेको छ । एउटै कम्पनीको कुल कारोबारको करिब १५ प्रतिशत कारोबार हुँदा कम्पनीको शेयरमूल्यमा आएको उतार चढावसँगै नेप्से सूचकमा समेत समानान्तर प्रभाव देखिएको थियो ।

कम्पनी नेप्सेमा सूचीकृत दोस्रोे ठूलो बजार पूँजीकरणको उचाई पुगेपछि शेयरमूल्यमा आएको उतार चढावको असर नेप्से सूचकमा समेत देखिएको हो । बिहीबार पुनर्बीमा कम्पनीको कुल बजार पूँजीकरण १ खर्ब ७३ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने पहिलो टेलिकमको १ खर्ब ९२ अर्ब ७५ करोड रुपैयाँ रहेको छ ।

उच्च कारोबार दोस्रो कम्पनीको नेपाल टेलिकमको ४२ करोड १८ लाख रुपैयाँ, नेपाल लाइफ ३० करोड ३ लाख, नेशनल लाइफ २६ करोड ७ लाख, शिवम् सिमेन्टको कम्पनीको कारोबार रकम २३ करोड ८२ लाखको भएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ मंसिर २०७७, बिहीबार  १६ : १३ बजे