मार्जिन कर्जाको सीमा पुनरावलोकन नगर्न राष्ट्र बैंकसँग लगानीकर्ताको अनुरोध


नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत मार्जिन कर्जाको सीमामा पुनरावलोकन गर्ने तयारी गरे पछि शेयर लगानीकर्ताहरु राष्ट्र बैंक पुगेका छन् ।

लगानीकर्ताका विभिन्न संघ संगठनहरुले सामुहिक रुपमा राष्ट्र बैंक पुगेर मार्जिन कर्जाको सीमामा कुनै संसोधन नगर्न आग्रह गरेका हुन् ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर लगानीकर्ताहरुले मार्जिन कर्जाको सीमामा कुनै किसिमको संसोधन नगर्न आग्रह गरेका हुन् । लगानीकर्तासँगको भेटका क्रममा गभर्नर अधिकारीले शेयर बजारलाई प्रतिकुल असर पर्ने किसिमका निर्णय राष्ट्र बैंकले नगर्ने आश्वासन लगानीकर्तालाई दिएका थिए ।

नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ, नेपाल पूँजीबजार लगानीकर्ता संघ, नेपाल पूँजी बजार संघ र शेयर लगानीकर्ता दबाव समूहका प्रतिनिधिहरुले राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

मौद्रिक नीतिमा शेयर मार्जिन कर्जाको सीमा ७० प्रतिशत कायम गरिएको थियो । राष्ट्र बैंकले त्रैमासिक समीक्षाका क्रममा यस्तो कर्जाको सीमामा पुनरावलोकन गरिने उल्लेख गरेको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।