चिलिमे हाइड्रोको २० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

0
Shares

चिलिमे जलविद्युत कम्पनी लिमिटेडले घोषणा गरेको २० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले लाभांश पारित गर्नका लागि पुस १२ गते साधारण सभा बोलाएको छ । साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि मङ्सिर २९ गतेदेखि पुस १२ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ ।

जस अनुसार नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा उक्त लाभांश वितरण हुने छ । लाभांश प्रस्ताव पारित भएपछि कम्पनीले ५७ करोड ९ लाख ७६ हजार २९३ रुपैयाँ बराबरको बोनस वितरण तथा ५७ करोड ९ लाख ७६ हजार २९३ रुपैयाँ नै नगद लाभांश बाँड्नेछ ।

हाल कम्पनीको चुक्ता पूँजी ५ अर्ब ७० करोड ९७ लाख रुपैयाँ छ । बोनस वितरण पश्चात कम्पनीको चुक्ता पूँजी ५७ करोड ९ लाख ७६ हजार रुपैयाँले वृद्धि हुनेछ ।

अघिल्लो वर्ष कम्पनीले २० प्रतिशत बोनस र ५ प्रतिशत नगदगरी कुल २५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

साधारण सभामा गत आर्थिक वर्षको आर्थिक प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदनमा छलफल, कम्पनीको प्रबन्धपत्र तथा नियावलीमा संशोधनका हुनुका साथै प्रस्तावित लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेका छन्।

चिलिमेले चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात गत असोज मसान्तसम्ममा २२ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ४९ पैसा छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ २५ पैसा र मूल्य आम्दानी अनुपात ३२.३५ गुणा छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।