आगलागीबाट पाँच वर्षमा सोलुखुम्बुमा १६ करोडभन्दा बढीको क्षति

आगलागीबाट पाँच वर्षमा सोलुखुम्बुमा १६ करोडभन्दा बढीको क्षति

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा पछिल्लो पाँच वर्षको अवधिमा आगलागीका घटनाबाट ठूलो जनधनको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९/८० देखि हालसम्म जिल्लामा आगलागीका घटनामा मानवीयसँगै घर, गोठ र पशुपन्छीसमेत क्षति भएको छ ।

उक्त अवधिमा आगलागीमा परी चार जनाको मृत्यु भएको थियो भने तीन जना घाइते भएको कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक मौसम तामाङले जानकारी दिए ।

उनका अनुसार त्यस आगलागीबाट ८४ वटा घर र २० वटा गोठमा क्षति पुगेको थियो भने सो अवधिमा आगलागीबाट कुल १६ करोड १ लाख २७ हजार ९५० रुपैयाँ बराबरको क्षति भएको तथ्याङ्क छ । त्यस्तै, १० वटा चौपाया तथा केही पन्छीसमेत मरेका विवरणमा उल्लेख छ ।

जिल्लामा आव २०७९/८० मा १९ वटा घरमा आगलागीमा हुँदा चारवटा चौपाया र केही पशुपन्छी क्षति हुँदा ६५ लाख ६५ हजार रुपैयाँबराबरको क्षति भएको छ । आव २०८०/८१ मा घर तथा गोठ दुवैमा क्षति पुग्दा १९ घर र नौ गोठ प्रभावित हुँदा ५७ लाख ७५ हजार रुपैयाँबराबरको क्षति भएको प्रहरीको तथ्याङ्क छ । यस अवधिमा केही मानवीय क्षति पनि भएको प्रहरीको वर्षगत विवरणमा छ ।

आव २०८१/८२ मा आगलागीबाट दुई जना मानिसको समेत घटनामा मृत्यु भएको थियो भने दुई जना घाइते भए । त्यस्तै २१ वटा घर र नौ गोठमा क्षति पुग्यो । उक्त वर्ष तीन करोड तीन लाख ४५ हजार ६०० रुपैयाँ बराबरको क्षति भएको विवरणले आगलागीको प्रभाव त्यस आवमा अघिल्ला वर्षको तुलनामा बढी रहन पुग्यो ।

आव २०८२/८३ मा पनि आगालागीमा परी दुई जना मानिसको मृत्यु भएको थियो भने एक जना घाइते भए । त्यस आर्थिक वर्षमा १२ घर र एउटा गोठ जल्दा ७९ लाख २० हजार रुपैयाँबराबरको क्षति भएको प्रहरीले जनाएको छ । चालु आव २०८३/८४ को हालसम्म तीन घर आगलागीबाट जलेर नष्ट हुँदा दुई लाख ५४ हजार रुपैयाँबराबरको क्षति भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । आगलागीका अधिकांश घटना विद्युत् सर्टका कारण हुने गरेको प्रहरीको प्रारम्भिक तथ्याङ्कले देखाएको छ ।

प्रहरीका अनुसार जिल्लामा भएका आगलागीका घटनाको प्रारम्भिक विश्लेषणबाट विद्युत् सर्ट प्रमुख कारणका रूपमा देखिएको छ । केही घटना भने मानवीय लापरवाहीका कारण भएको पाइएको छ । विद्युत् तार तथा उपकरणको असुरक्षित प्रयोग, विद्युत् जडानमा सावधानी नअपनाउनु र आगोको प्रयोगमा लापरवाही आगलागीको जोखिम बढाउने कारणका रूपमा देखिएका छन् । विद्युत् प्रणालीको नियमित जाँच, सुरक्षित जडान र आगोको प्रयोगमा सावधानी अपनाउन सके आगलागीबाट हुने धनजनको क्षति न्यूनीकरण गर्न सकिने प्रहरीको सुझाव छ ।

आगलागीबाट मानवीय क्षति

सोलुखुम्बुमा पछिल्लो पाँच वर्षको अवधिमा आगलागीका घटनाबाट चार जनाको मृत्यु भएको तथ्याङ्कले आगलागीलाई केवल भौतिक क्षतिसँग जोडेर हेर्न नमिल्ने देखाएको छ । आगलागीका कारण तीन जना घाइते भएका छन् । अचानक र कतिपय रातिको समयमा आगलागीका घटना हुँदा मानिसले सुरक्षित स्थानमा पुग्ने समयसमेत पाउँदैनन् । घरभित्र हुने आगलागीका घटनामा कतिपय बेला निस्कनसमेत कठिन हुने गरेको पाइन्छ ।

घरमा बालबालिका, ज्येष्ठ नागरिक, अशक्त व्यक्ति वा बिरामी रहेका अवस्थामा आगलागीको जोखिम थप संवेदनशील बन्ने गरेको प्रत्यक्षदर्शीहरूको अनुभव छ । आगलागी भएको स्थानमा समयमै दमकल, प्रहरी, स्थानीय उद्धारकर्मी र समुदायको सहयोग पुग्न सके क्षति न्यूनीकरण गर्न सकिने सम्भावना रहेको स्थानीयवासीको भनाइ छ । तर दुर्गम भौगोलिक अवस्थाका कारण कतिपय स्थानमा उद्धार तथा अग्नि नियन्त्रणका साधन तत्काल पुग्न कठिन हुने गरेको प्रमुख जिल्ला अधिकारी कमानसिं थापामगरको भनाइ छ ।

पशुपन्छीमा समेत क्षति

प्रहरीको तथ्याङ्कअनुसार आगलागीबाट १० वटा चौपाया तथा पन्छी मरेका छन् भने एकवटा घाइते भएको छ । पशुपन्छीको क्षतिले किसानको आर्थिक अवस्था र जीविकोपार्जनमा प्रत्यक्ष असर पार्न सक्ने अगुवा कृषक जाङ्बु शेर्पाले बताए । उनले भने, “ग्रामीण क्षेत्रमा गाई, भैँसी, बाख्रा, भेडा तथा अन्य पशुपन्छी परिवारको सम्पत्तिका रूपमा मात्र नभई दैनिक जीवन र आम्दानीको स्रोतका रूपमा समेत रहेका हुन्छन् । गोठमा आगलागी हुँदा पशुहरू बाँधिएको अवस्थामा रहेका कारण भाग्न नसक्ने जोखिम हुन्छ । आगो, धुवाँ र तापका कारण पशुहरू घाइते हुने वा मर्ने सम्भावना रहन्छ ।”

पशुपालनलाई कृषि तथा ग्रामीण अर्थतन्त्रको महत्त्वपूर्ण आधार मानिने आगलागीबाट हुने पशुपन्छीको क्षतिलाई आर्थिक तथा सामाजिक क्षतिका रूपमा समेत मूल्याङ्कन गर्न आवश्यक रहेको कृषक दाली शेर्पाको भनाइ छ । पशुपन्छीको क्षतिपछि किसानलाई पुनस् पशुपालनमा फर्कन आर्थिक सहयोग, बीमा तथा अन्य सहायता आवश्यक पर्न सक्ने उनको चिन्ता छ ।

१६ करोडभन्दा बढीको क्षति

जिल्लामा आगलागीका घटनाबाट भएको कुल क्षति १६ करोड एक लाख २७ हजार ९५० रुपैयाँ रहेको प्रहरीको तथ्याङ्क छ । उक्त रकम आगलागीबाट भएको भौतिक क्षतिको मूल्याङ्कन हो । घर, गोठ तथा अन्य सम्पत्तिमा भएको क्षतिले जिल्लामा आगलागीको जोखिम व्यवस्थापन र पूर्वतयारीलाई प्राथमिकतामा राख्नुपर्ने देखाएको छ ।

आगलागीबाट क्षति पुगेका घर तथा संरचना पुनर्निर्माण गर्न प्रभावित परिवारले ठूलो आर्थिक भार व्यहोर्नुपर्ने हुन्छ । घर निर्माणका लागि आवश्यक काठ, ढुङ्गा, इँटा, सिमेन्ट, जस्तापाता तथा अन्य निर्माण सामग्रीको लागत बढ्दै गएको अवस्थामा आगलागीबाट घर नष्ट हुनु परिवारका लागि दीर्घकालीन आर्थिक चुनौती बन्ने गरेको छ ।

आगलागीले घरभित्र रहेका नगद, गरगहना, कागजात, शैक्षिक प्रमाणपत्र, कृषि सामग्री, सञ्चार उपकरण तथा अन्य मूल्यवान् वस्तु नष्ट हुन सक्छन् । यस्ता सामग्रीको क्षति तत्काल आर्थिक मूल्याङ्कनमा पूर्ण रूपमा समेटिन नसके पनि प्रभावित परिवारको जीवनमा ठूलो असर पर्ने गरेको छ ।

आगलागीबाट हुने क्षति न्यूनीकरणका लागि आगलागीपछिको राहतभन्दा आगलागी हुन नदिने पूर्वतयारी र जोखिम न्यूनीकरणमा बढी ध्यान दिनुपर्ने सरोकारवालाको आवश्यकता रहेको स्थानीयवासी तथा अग्रज पत्रकार नारायणकुमार श्रेष्ठ बताउछन् । उनका अनुसार सुरक्षित विद्युत् प्रणाली, घरभित्र आगोको प्रयोगमा सावधानी, भान्सा तथा चुलो व्यवस्थापन, ज्वलनशील पदार्थको सुरक्षित भण्डारण र आगलागी नियन्त्रणका उपकरणको उपलब्धता महत्त्वपूर्ण पक्ष हुन् ।

दुर्गम भूगोल र अग्नि नियन्त्रणको चुनौती

सोलुखुम्बु हिमाली जिल्ला भएकाले यहाँको भौगोलिक बनावट, बस्तीको अवस्थिति, सडक पहुँच र मौसमले विपद् व्यवस्थापनमा चुनौती थप्ने गरेको छ । कतिपय बस्ती सडक पहुँचबाट टाढा रहेका छन् भने जिल्लाका अधिकांश स्थानमा अग्नि नियन्त्रणका साधन तथा उपकरण सहज रूपमा उपलब्ध छैन् ।

भौगोलिक विकटताका कारण आगलागी भएको स्थानमा दमकल पुग्न नसक्ने तथा पुग्न लामो समय लाग्ने अवस्थामा स्थानीय समुदायको सक्रियता नै तत्काल नियन्त्रणको प्रमुख आधार बन्ने गरेको प्रहरी नायब निरीक्षक द्वारिकाप्रसाद घिमिरेको अनुभव छ । पानीको स्रोत नजिक उपलब्ध नहुनु, सडक साँघुरो हुनु, बस्तीमा घरहरू एकअर्काको नजिक हुनु तथा हावाको तीव्रताले आगो फैलिने जोखिम बढाउन सक्ने सम्भावना रहेको उनको भनाइ छ ।

हिमाली तथा पहाडी बस्तीमा परम्परागत घर निर्माण शैली, काठको प्रयोग, घरभित्र दाउरा तथा अन्य ज्वलनशील सामग्रीको भण्डारणले पनि आगलागीको जोखिमलाई प्रभावित गर्न सक्ने सम्भावना रहेको स्थानीय आङपुला शेर्पाले बताए । विशेषगरी घर र गोठ एकै परिसरमा रहेका अवस्थामा आगलागी फैलिँदा घर, गोठ तथा पशुपन्छीमा एकैपटक क्षति पुग्न सक्ने उनको भनाइ छ ।

स्थानीय तहले यसका लागि बस्तीस्तरमा आगलागी नियन्त्रणका उपकरण, पानीको स्रोत, अग्नि नियन्त्रणका लागि आवश्यक सामग्री तथा स्थानीय उद्धार समूहको व्यवस्था गर्न आवश्यक रहेको शेर्पाको सुझाव छ ।

आगलागीको जोखिम घटाउन सरकारी निकायको प्रयाससँगै नागरिकको सतर्कता, समुदायको सहभागिता र स्थानीयस्तरमा उपलब्ध साधनको प्रभावकारी परिचालन आवश्यक देखिएको स्थानीयको भनाइ छ । आगलागी भएपछि उद्धार र राहतमा मात्र निर्भर नभई घटना हुनुअघि नै जोखिम पहिचान, सावधानी र तयारीमा जोड दिनसके धनजनको क्षति न्यूनीकरण गर्न सकिने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: ११ मंसिर २०८३, शुक्रबार १७ : १५ बजे