इन्भेष्टमेन्ट र हिमालयन बैंक बीच मर्जरको अनौपचारीक प्रक्रिया सुरु, स्वाप के होला ?


नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक एक–आपसमा मर्जरमा जाने भएका छन् । नेपाल राष्ट्र बैंकको मर्जर नीति अनुसार दुइ बैंकले एक आपसमा मर्जरको अनौपचारिक प्रक्रिया सुरु गरेका हुन ।

दुई बैंक बिच मर्जरको अनौपचारीक प्रकृया सुरु भएको जानकारी दिँदै नेपाल इन्भेष्टमेण्ट बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडेले मर्जरका लागि कामहरु थालिएको बताए ।

“अनौपचारीक रुपमा दुई बैंक मर्जरमा लैजाने काम अघि बढेको छ,” उनले भने, “अहिले मर्जरको प्रारम्भिक सुरुवात भएको छ, यसमा ड्यू डेलिजेन्स अडिट (डीडीए) गरेपछि कुरा मिल्यो भने मात्र औपचारीक रुपमा प्रक्रिया अघि बढाउने हो ।”

अहिले देखि नै औपचारिक रुपमा मर्जर प्रक्रिया सुरु गरेर ५ देखि ६ महिनासम्ममा शेयर कारोबार रोक्नु पर्ने अवस्था हुने पाँडेले बताए । दुबै बैंकको डीडीए गरेर मात्र स्वप रेसियो तय गरिने उनले बताए । अहिले दुबै बैंकका मर्जर कमिटिले प्रारम्भिक प्रक्रिया अघि बढाएको जानकारी उनले दिए ।

दुबै बैंकका मुख्य लगानीकर्ताबीच परिवारिक सम्बन्ध पनि भएकाले दुबै बैंकलाई एक बनाउन नेपाल राष्ट्र बैंकको पनि स्वार्थ छ । केन्द्रीय बैंकले क्रस होडिल्डङ भएका बैंक÷वित्तीय संस्थालाई एक बनाउने भनेर अध्ययन नै गरेको थियो । सोही अधययन अनुसार पनि हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकलाई मर्जरमा लैजाने चाहना राष्ट्र बैंकसँग थियो ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्मा नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पूँजी १४ अर्ब २४ करोड ८९ लाख ५५ हजार रुपैयाँ छ । बैंकको सञ्चित कोषमा १२ अर्ब १ करोड ५४ लाख रुपैयाँ छ । यस्तै इन्भेष्टमेन्ट बैंकसँग १ खर्ब ८४ अर्ब ८८ करोड २५ लाख ७१ हजार रुपैयाँ निक्षेप छ । कर्जा १ खर्ब ३९ अर्ब २ करोड २४ लाख रुपैयाँ छ ।

सोही अवधीमा हिमालयन बैंकको चुक्ता पूँजी ९ अर्ब ३७ करोड २२ लाख ८१ हजार ४२८ रुपैयाँ छ । बैंकको सञ्चित कोषमा ६ अर्ब ७ करोड ९७ लाख रुपैयाँ छ । बैंकको निक्षेप १ खर्ब २८ अर्ब ८२ करोड ६९ लाख र कर्जा ९९ अर्ब ३८ करोड ३० लाख रुपैयाँ छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार दुवै बैंक एक बराबरको अनुपातमा मर्ज भएको खण्डमा बैंकको चुक्ता पूँजी २३ अर्ब ६२ करोड रुपैंया पुग्नेछ । मर्जर भएपछि बन्ने नयाँ बैंकको सञ्चित कोषमा १८ अर्ब ९ करोड रुपैंया जम्मा हुनेछ ।

हिमालयन बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १४ प्रतिशत बोनस सहित २० प्रतिशत लाभाशं दिने प्रस्ताव गरिसकेको छ । इन्भेष्टमेन्ट बैंकले भने गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाइ दिने प्रतिफल घोषणा गरिसकेको छैन । गत आर्थिक वर्षको कार्यासम्पादन अनुसार इन्भेष्टमेन्ट बैंकले १३ प्रतिशतको हाराहारीमा लाभासं दिने क्षमता देखिन्छ ।

अब आठ वाणिज्य बैंकको मात्र लाभांश घोषणा हुन बाँकी …

इन्भेष्टमेण्ट बैंकको लाभांस घोषणा हुन बाँकी नै रहेको अवस्थामा मर्जरको चर्चा चुलिए पछि पछिल्ला केही दिनमा शेयर मूल्यमा वृद्धि आई रहेको छ । यस क्रममा मंगलबार शेयर बजार घट्दा पनि बैंकको प्रतिकित्ता शेयर ३४ रुपैंया अर्थात ६.८४ प्रतिशतले बढेर ५३१ रुपैंया पुगेको छ ।

मंगलबार बैंकको २ लाख ३९ हजार ३३८ कित्ता शेयरहरु १ हजार २४७ पटक किनबेच हुँदा १२ करोड ७ लाख ९७ हजार रुपैंयाको कारोबार भएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।